नेप्से परिसूचक ५४ अंकले घट्यो, ६ अर्बको शेयर कारोबार

आइतबार नेप्से परिसूचक ५४.६२ अंकले घटेर २६१४.६८ को विन्दुमा कायम भएको छ।

काठमाडौँ– साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अंकको गिरावट देखिएको छ। अघिल्लो साताको सबै कारोबार दिन घटेको नेप्से परिसूचकले आइतबार पनि निरन्तरता पाएको हो।

नेप्सेका अनुसार आइतबार परिसूचक ५४.६२ अंकले घटेर २६१४.६८ को विन्दुमा कायम भएको छ। यस दिन नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ।

यस दिन ३१७ कम्पनीको एक करोड २३ लाख ७१ हजार २८० कित्ता शेयर ७२ हजार २६५ पटक खरिद बिक्री हुँदा ६ अर्ब ३२ करोड एक लाख ४१ हजार ३६५ रुपैयाँ बराबरको कारोबार भयो। यसअघि बिहीबार चार अर्ब ५६ करोड १३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।

यस दिनको कारोबारमा सबै समूहको उपसूचक घटेका छन्। सबैभन्दा बढी वित्त समूह २.९८ प्रतिशतले घटेको छ। बैंकिङ १.५५, विकास बैंक २.३०, होटल तथा पर्यटन २.३०, जलविद्युत् २.५०, लगानी २.१२, जीवन बीमा १.९७, उत्पादन तथा प्रशोधन १.४३, लघुवित्त २.३६, म्युचुअल ०.७१, निर्जीवन बीमा २.१५, अन्य १.७२ र व्यापार समूहको उपसूचक २.८३ प्रतिशतले घटेको छ।

यस दिनको कारोबारमा मिथिला लघुवित्तको शेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ। कारोबार रकमका आधारमा यस दिन सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको ४२ करोड ६ लाख ३४ हजार ९८१ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा सबैभन्दा धेरै घलेम्दी हाइड्रो लिमिटेडको चार लाख ५४ हजार ३७१ कित्ता शेयर किनबेच भएको छ।