जसपा र एकीकृत समाजवादीबीच एकता गर्न दुई पार्टीका अध्यक्षबीच छलफल भएको स्रोतले जनाएको छ। एकताको पहल भए पनि औपचारिक छलफलसम्म नपुगिएको नेताहरूले बताएका छन्।
काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीबीच एकीकरणको पहल शुरू भएको छ। दलहरूबीच सरकार गठनको रस्साकस्सी चलिरहँदा साना दुई पार्टीले एकताको पहल थालेका हुन्।
एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच पार्टी एकीकरण सम्बन्धमा छलफलसमेत भएको स्रोतको भनाइ छ। जसपा संघीय परिषद् अध्यक्ष अशोक राईको पहलमा दुई अध्यक्षबीच छलफल भएको एक नेताले बताए। जसपामा पनि एमाले पृष्ठभूमिका नेताहरू रहेका कारण एकता प्रक्रिया बढाउन उनीहरू बढी सक्रिय भएको स्रोतले बतायो।
एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले भने बृहत समाजवादी एकता बनाउन विभिन्न दलसँग अनौपचारिक छलफलहरू चलिरहेको बताए। त्यही क्रममा जसपा नेताहरूसँग अनौपचारिक कुराकानी भएको उनको भनाइ छ। जसपा नेताहरूसँग व्यक्तिगत र पार्टीगत छलफल पनि भएको उनले बताए।
“यसमा अहिले भन्नलायक उल्लेखनीय प्रगति भइसकेको छैन”, प्रवक्ता खतिवडाले भने, “देशको परिस्थितिले पनि असल उद्देश्यसाथ समाजवादी आन्दोलनमा लागेका शक्तिहरू मिल्नुपर्ने देखाएको छ। यसअघि सैद्धान्तिक रूपमा मिल्दा पनि व्यवहारिक कुरा नमिलेको अवस्थामा एकीकरणहरू टिकाउ हुन सकेनन्, त्यसैले सैद्धान्तिक र व्यवहारिक दुवै पक्षहरू विचार गरेर प्रक्रिया औपचारिक रूपमा अगाडि बढाउन धेरै कुरा बाँकी छ।”
जसपा नेता तथा सांसद राजकिशोर यादवले चुनावपछि विभिन्न दलहरूसँग एकता र सहकार्यका विषयमा छलफल भइरहेको बताए। “के गर्दा ठीक होला भनेर चर्चा परिचर्चाहरू अनौपचारिक रूपमा भइरहेको छ, यो स्वाभाविक पनि हो”, उनले भने, “तर नेकपा एससँग अध्यक्षजी (उपेन्द्र यादव) को कुनै ठोस छलफल भएको भए मलाई जानकारी भएन।”
गएको आमनिर्वाचनमा जसपाले समानुपातिकतर्फ ‘थ्रेस होल्ड’ कटाएर राष्ट्रिय पार्टी बनेको छ भने एकीकृत समाजवादीले थ्रेसहोल्ड कटाउन सकेको छैन। जसपाले निर्वाचनका लागि मनोनयन दर्ता गर्नु ठीकअघि मात्र सत्ता गठबन्धनबाट अलग्गिएर एमालेसँग तालमेल गरेको थियो। एकीकृत समाजवादी भने अहिले पनि सत्ता गठबन्धनमै छ।
प्रतिनिधिसभामा जसपाको १२ र एकीकृत समाजवादीको १० सिट छ। जसपा अध्यक्ष उपेन्द्र यादव सप्तरी–२ बाट पराजित हुँदा एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल भने रौतहट–१ बाट विजयी भएका छन्। यी दुई दलबीच एकता भए प्रतिनिधिसभामा चौँथो ठूलो दल बन्नेछ। एकतापछि बन्ने पार्टीले राष्ट्रिय दलको पनि मान्यता पाउने छ।
जसपा अध्यक्ष यादव प्रतिनिधिसभामा नरहेकाले संसदीय दलको नेतामा माधवकुमार नेपाललाई अवसर मिल्नेछ। निर्वाचनअघि नै सत्ता गठबन्धबाट बाहिरिएका जसपा नेतालाई एकतापछि संघीय सरकारसँगै मधेश प्रदेश, प्रदेश नम्बर १ र लुम्बिनी प्रदेशको सरकारमा सामेल हुने बाटो खुल्ने छ।
एकीकरण भएर बन्ने दल संघीय सत्ताको समीकरणमा निर्णायक बन्ने सम्भावना छ। संघमा सरकार गठनका लागि १३८ सिट आवश्यक छ। सत्ता गठबन्धनसँग अहिले एकीकृत समाजवादीको १० सिटसहित १३६ सिट छ।
नयाँ बन्ने दल सत्ता साझेदारीमा निर्णायक हुँदा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख र प्रदेशका मुख्यमन्त्रीजस्ता महत्त्वपूर्ण पदहरूमा दाबेदारी दिन बलियो स्थितिमा हुने राजनीतिक विश्लेषक वीरेन्द्रप्रसाद यादवले बताए। तर, दीर्घकालीन रूपमा एकता दीगो हुने सम्भावना भने कमजोर रहेको उनको भनाइ छ। यी दललाई एकताको तत्कालीन आवश्यकता भने रहेको उनले बताए।
एकतापछि बन्ने पार्टीको स्वरूप, सैद्धान्तिक आधार र राजनीतिक कार्यदिशा कस्तो बन्ने भन्नेमा जटिलता देखिएको अधिवक्तासमेत रहेका विश्लेषक यादवले बताए। “पृष्ठभूमि, अजेन्डा, नारा र प्राथमिकताका हिसाबले यि दलहरू बेग्लै प्रवृतिका हुन्। सत्ता र शक्तिको हिसाबले तत्कालीन रूपमा एकताको अवस्था बन्न पनि सक्छ, तर मूलभूत आधारहरूमा यी दल फरक नै हुन्”, उनले भने, “जसपाले मधेशको पक्षमा संविधान संसोधनलगायतका मुद्दा उठाउँदै आएको छ। एकतापछि अहिलेको नेकपा एसले ती मुद्दा बोक्लान् भन्नेमा शंका छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
