सन् २०३० सम्ममा क्षयरोग महामारीको अन्त्य र २०५० सम्ममा क्षयरोग मुक्त नेपाल हासिल गर्ने लक्ष्यतर्फ राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र अग्रसर रहेको जनाएको छ।
काठमाडौँ– आज मार्च २४ तारिख। हरेक वर्ष आजकै दिन संसारभर विभिन्न कार्यक्रम आयोजना गरी अन्तर्राष्ट्रिय क्षयरोग (टीबी) दिवस मनाइन्छ। क्षयरोगविरुद्ध जनचेतना जगाउने, सरल र सहज रूपमा उपचारको प्रबन्ध गर्ने, गराउने उद्देश्यका साथ यो दिवस मनाउने गरिएको छ।
दिवसको यस वर्षको नारा ‘हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौं। लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चतता, आजको आवश्यकता’ भन्ने तय गरिएको छ। यस दिवसले क्षयरोग महामारीको अन्त्यका लागि गरिएका प्रतिबद्धता, प्रयास, तथा उपलब्धीलाई सम्झिने अवसर समेत प्रदान गरेको छ।
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले दिवसका अवसरमा विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गर्ने तयारी गरेको छ। उक्त रोगका कारण नेपालमा हजारौँ मानिस प्रभावित भइरहेका छन्। विश्वव्यापी रुपमा क्षयरोग अन्त्यका लागि गरिएका हाम्रो साझा तथा सामूहिक संकल्पमा केन्द्र कटिबद्ध रहेको जनाएको छ।
केन्द्रका निर्देशक डा. श्रीराम तिवारीले जारी गरेको विज्ञप्तिमा क्षयरोग विश्वभर लाखौँ मानिसलाई प्रभावित गर्ने सरुवा रोग भएको र नेपालमा यो जनस्वास्थ्य समस्याको रूपमा रहिआएको उल्लेख छ। सन् २०२३ मा विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा अनुमानित ६८ हजार नयाँ क्षयरोग प्रभावित व्यक्तिहरू थिए, जसको दर प्रति एक लाख जनसंख्यामा २२९ रहेको थियो। त्यसैगरी क्षयरोगका कारण १६ हजारको मृत्यु भएको अनुमान गरिएको छ। जसको मृत्युदर प्रति एक लाख जनसंख्यामा ५४ थियो।
सोही अवधिमा, राष्ट्रिय क्षयरोग कार्यक्रमले ४० हजार ७७६ जना क्षयरोग प्रभावित व्यक्ति उपचारका लागि दर्ता गरेको थियो। त्यसमा ३९ प्रतिशत महिला र ६१ प्रतिशत पुरुष थिए। पत्ता लागेका औषधि प्रतिरोधी क्षयरोग प्रभावित व्यक्ति ७५६ जना थिए। उपचारका लागि दर्ता भएका मध्ये ७२ प्रतिशत फोक्सोको क्षयरोग र २८ प्रतिशत फोक्सो बाहिर अन्य अंगमा लाग्ने क्षयरोगी थिए। त्यसैगरी उपचार सफलता दर ९२ प्रतिशत छ। उल्लेखनीय प्रगतिका बावजुद, नेपालले अझै पनि क्षयरोग अन्त्यका लागि धेरै चुनौतीको सामना गरिरहेको केन्द्रले जनाएको छ।
रोग अन्त्यका लागि सबै क्षेत्रको सहकार्य हुन नसक्दा थप प्रगति हासिल हुन नसकेको केन्द्रले स्पष्ट पारेको छ। रोगको अन्त्यका लागि स्वास्थ्य क्षेत्रसहित, स्वास्थ्य बाहेकका अन्य क्षेत्रहरू जस्तैः शिक्षा, श्रम तथा रोजगार, सामाजिक सुरक्षण लगायत अन्यको पनि महत्त्वपूर्ण योगदान रहनु आवश्यक छ। यसका साथै नीजि क्षेत्र र समुदायको संलग्नता पनि उत्तिकै महत्त्वपूर्ण छ।
चुनौतीलाई समाधान गर्न केन्द्रले निरन्तर आफ्ना प्रयासलाई परिस्कृत गर्दै लगेको जनाएको छ। नेपालभर क्षयरोग उपचारका सेवा छ हजार २४१ स्वास्थ्य संस्था र निदानका सेवा ८०० स्वास्थ्य संस्थामा निःशुल्क उपलब्ध छन्। रोगको द्रूत परीक्षण सेवाको पहुँच ६७ जिल्लाका ११७ स्वास्थ्य संस्थामा पुगेको छ। यो परीक्षणबाट क्षयरोग प्रभावित व्यक्तिको औषधि प्रतिरोधको अवस्था थाहा पाउन सकिन्छ। औषधि प्रतिरोधी क्षयरोगका बिरामीको उपचार सेवा २९ वटा उपचार केन्द्र र ९८ उपचार उप– केन्द्रबाट प्रदान गरिँदै आएको केन्द्रले जनाएको छ। औषधि प्रतिरोधी बिरामीको लागि इन्जेक्सनरहित छोटो अवधिको, छ महिने उपचार ‘रेजिमेन’ उपलब्ध गराएको छ।
मुलुकको संघीय संरचनालाई ध्यानमा राखी नेपालले नवीनतम् प्रयासको रुपमा स्थानीय तहको नेतृत्व, उत्तरदायित्व र अपनत्व विकास गरी क्षयरोग अन्त्यका लागि भएका प्रयासलाई दिगो रुपमा गति दिनको लागि क्षयरोग मुक्त नेपाल अभियान १४९ स्थानीय तहमा विस्तार गरिएको छ। एआई जडित डिजिटल एक्सरे मेसिनद्वारा समुदायमा क्षयरोग बिरामीको सक्रिय खोजपड्ताल शुरूआत भएको छ।
सन् २०३० सम्ममा क्षयरोग महामारीको अन्त्य र २०५० सम्ममा क्षयरोग मुक्त नेपाल हासिल गर्ने लक्ष्यतर्फ केन्द्र अग्रसर रहेको विज्ञप्तिमा उल्लेख छ। हरेक वर्ष विश्वमा ८० लाख नयाँ क्षयरोगी थपिन्छन् भने २० लाखको क्षयरोगकै कारणले मृत्यु हुने गरेको डरलाग्दो तथ्यांक छ।
तीन हप्ता वा सो भन्दा बढी समयदेखि लगातार खोकी लागेमा, खकारमा रगत देखिएमा, श्वास फेर्न गाह्रो भएमा वा छाती भारी भइरहेमा, अकास्मात धेरै तौल घटेमा यस रोग लागेको हुन सक्छ। त्यस्तै पसिना आउने धेरै भएर थकान बढी महसुस भएमा नजिकैको स्वास्थ चौकी गएर परीक्षण गर्नुपर्दछ। शारिरीक अवस्था कमजोर भई रोग प्रतिरोधात्मक क्षमता कम भएकामा यो रोगको संक्रमण हुन सक्छ। यो रोगसँग डराउनु नपर्ने र यसको निःशुल्क उपचारको प्रबन्ध गरिएको छ।
रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका मान्छेमा, चुरोट रक्सी या लागुऔषध सेवन गर्नेमा र क्षयरोगको औषधिको पूर्ण मात्रा सेवन नगरेमा उक्त रोगको पुनः संक्रमण फेरि देखिन सक्ने भएकाले उपचारमा विशेष ध्यान दिनु आवश्यक हुने जनाइएको छ। औषधिको नियमित सेवनले क्षयरोग निको हुने चिकित्सकहरूको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
