पाल्पाको तानसेनमा भेटिए तोपका गोला

तानसेन नगरपालिका–४ गोलाखानामा जग्गा खन्ने क्रममा तीन सय तोपका गोला फेला परेको पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।

पाल्पा– पाल्पाको सदरमुकाम तानसेननजिकै जग्गा खन्ने क्रममा तोपका गोला फेला परेका छन्।

जिल्लाको तानसेन नगरपालिका–४ गोलाखानामा जग्गा खन्ने क्रममा तोपका गोला फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।

बाइसे/चौबिसे राज्य एकीकरणको समयताका सो स्थानमा गोलखान रहेका कारण तोपका गोला फेला परेको पाल्पा इतिहासका जानकार निर्मल श्रेष्ठले बताए।

अहिलेसम्म तीन सयवटा गोला फेला परेको र उत्खननको क्रममा अझ धेरै भेटिन सक्ने श्रेष्ठको भनाइ छ।

गोला भेटिएको जग्गा पाल्पास्थित नेपाली सेनाको हो। सोही ठाउँमा सेनाले गेस्टहाउस निर्माणका लागि तयारी गरिरहेको छ।

अहिले ती गोलाको सुरक्षित व्यवस्थापनका लागि पाल्पास्थित नेपाली सेनाको दि फेमस महेन्द्र दल गणको टोली परिचालन भएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए।

फेला परेका गोलाका बारेमा थप अनुसन्धान प्रक्रिया अगाडि बढेको पाल्पा प्रहरीले जनाएको छ।