सार्वजनिक यातायात: ‘पिक आवर’मा क्षमताभन्दा अढाई गुणा बढी यात्रु

विज्ञहरू ‘पिक आवर’मा सामान्य गाडीले एक पटकमा क्षमताभन्दा दुईदेखि अढाई गुणासम्म यात्रु बोक्ने गरेको, आरएनएसीबाट मनमैजु, भत्केको पुल क्षेत्रमा यात्रु चाप उच्च देखिएको बताउँछन्।

काठमाडौँ– “कार इज लाइक अफिम, इट सेल अस फ्रम पिपुल (निजी सवारी अफिमसरह यसले हामीलाई समाज, सामाजिकीकरणबाट पर राख्न थाल्छ)।” ललितपुरस्थित साझा यातायातको कार्यालयमा शुरू भएको दुईदिने अन्तर्राष्ट्रिय सार्वजनिक यातायातसम्बन्धी विचार गोष्ठीका प्रमुख वक्ता आलोक जैनले सार्वजनिक यातायातको महत्त्व दर्साउन निजी सवारीप्रति गरेको टिप्पणी हो यो।

काठमाडौँ उपत्यका सार्वजनिक यातायात प्राधिकरण र साझा यातायातको संयुक्त रूपमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै मुख्य वक्ता जैनले सार्वजनिक यातायातको महत्त्व, अन्तर्राष्ट्रिय अभ्यास र दक्षिण एशियाका समस्या तथा सम्भावनाबारे धारणा राखेका थिए।

३० वर्षदेखि सार्वजनिक यातायातमा आबद्ध उनी हंकगस्थित ट्रान्स कान्सल्ट लिमिटेडमा प्रमुख कार्यकारी अधिकारी हुन्। जैन सार्वजनिक यातायातको चुस्तता नै विकासको उत्प्रेरक हुने बताउँछन्। सार्वजनिक यातायात कष्टकर नभई सहज हुनुपर्ने र यात्रा पनि मनोरञ्जनात्मक हुनुपर्नेमा उनको जोड छ।

आफू कार्यरत हंकगमा निजी सवारीभन्दा पनि सार्वजनिक यातायात सबैभन्दा प्रभावकारी यातायातको माध्यम भएको उदाहरण दिए। “सार्वजनिक यातायातलाई कमसल र सस्तो यात्राको माध्यम मान्छौँ,” उनले भने, “उचित भाडादरमा सुविधाजनक सार्वजनिक यातायात प्रणाली विश्वभर सञ्चालनमा छ।”

जैनको भनाइमा सहमति जनाउँदै कार्यक्रम आयोजक तथा साझा यातायातका पूर्वअध्यक्ष कनकमणि दीक्षित आममानिसले मर्यादित यातायातको सुविधा उपभोग गर्न पाउनुपर्ने बताउँछन्।

शहरी विकासमा सार्वजनिक यातायातको भूमिकाअन्तर्गतको सत्रमा साझा यातायातका बोर्ड सदस्य भूषण तुलाधर, नेपाल सरकारतर्फबाट श्रीराम ढकाल, भारतका विनय दीक्षित, एशियाली विकास बैंक, नेपालका लागि हेमन्त तिवारी र रोजी प्रधानाङ्गले कार्यपत्र प्रस्तुत गरेका थिए। 

तुलाधरले साझा यातायातको इतिहास र वर्तमानबारे जानकारी दिँदै अबका लागि सार्वजनिक यातायात वातावरणमैत्री हुनुपर्ने उल्लेख गरे। साझा यातायातका नयाँ सवारी बिजुलीमैत्री हुने पनि उनको भनाइ छ।

कार्यक्रममा एशियाली विकास बैंकका प्रतिनिधि तिवारी र प्रधानाङ्गले प्रस्तुत गरेको कार्यपत्रले काठमाडौँ उपत्यकाको सार्वजनिक यातायातको जटिल अवस्थालाई दर्साएको थियो। अनुसन्धानकर्ता प्रधानाङ्गले ‘पिक आवर’मा एक पटकमा सामान्य गाडीले क्षमताभन्दा दुईदेखि अढाई गुणासम्म यात्री बोक्ने गरेका बताइन्। तथ्यांक संकलनका क्रममा आरएनएसीबाट मनमैजु, भत्केको पुल क्षेत्रमा अधिकतम यात्रु चाप रहेको पाइएको उनको भनाइ छ। “पिक आवरमा एउटा गाडीले ८३ यात्रुसम्म बोक्ने गरेको छ,” उनले भनिन्, “यस्तोमा यात्रुबाट भने सार्वजनिक यातायातमा हुने भिडभाड, सवारीसाधनको उच्च गतिबारे गुनासो बढी पाइयो।”

कार्यक्रमको अन्तिम सत्र ‘क्रसिङ बोडर्स’मा पूर्वाधारविज्ञ आशिष गजुरेलले नेपाल, भारत र चीनसँग सार्वजनिक यातायातमार्फत भइरहेको यात्रा, व्यवस्थापकीय पक्षबारे बहस गरेका थिए। बहसका क्रममा वक्ताहरूले नेपालमा चेकजाँच तथा पूर्वाधार कमजोर रहेको औँल्याए। दिल्लीबाट आउँदा नाकामा भारततर्फ एक्स–रे मेसिनबाटै चेकजाँच गर्ने व्यवस्था रहेको तर नेपालमा त्यस्ता प्रविधि प्रयोग नभएको बताउँछन् संयुक्त यातायात तथा मञ्जुश्री यातायातका अध्यक्ष भरत तिमिल्सिना। तिमिल्सिनाले मञ्जुश्री यातायातमार्फत काठमाडौँदेखि दिल्लीसम्मको बसयात्रा सञ्चालन गर्दै आएका छन्। उनले सरकारबाट हुनुपर्ने व्यवस्थापकीय पक्ष निकै कमजोर रहेको गुनासो गरे।

ल्हासाका लागि महावाणिज्य दूतावासका प्रतिनिधि लक्ष्मी निरौला नेपाल र चीनबीच रहेका २० वटा नाका सञ्चालनका लागि दुई देशबीच स्पष्ट संवाद र व्यवस्थापनको प्रतिबद्धता हुनुपर्ने बताउँछन्। साथै उनले चीन र नेपालको यातायात पूर्वाधारमा ठूलो अन्तर रहेको बताए। व्यक्तिगत अनुभव सुनाउँदै उनले भने, “यही कार्यक्रमका लागि म ल्हासादेखि काठमाडौँसम्म गाडीमै आएँ। ल्हासाको १५ घण्टाको यात्रा आरामदायी थियो। तर तातोपानी नाका कटेपछि काठमाडौँसम्म आइपुग्न लागेको केही घण्टा निकै कष्टकर रह्यो। हामी पूर्वाधारमा चुकिरहेका छौँ।”

पूर्वाधारतर्फ सुधार सबल भए ल्हासाबाट हरेक वर्ष एक करोड पर्यटक नेपाल भित्र्याउने सकिने उनको भनाइ थियो। यसबाहेक, कार्यक्रममा सार्वजनिक यातायातका क्षेत्रमा भइरहेका नवीनतम आविष्कार, सफल सार्वजनिक यातायात सञ्चालन लगायतका विषयमा पनि वक्ताहरूले प्रकाश पारेका थिए।