नर्सरी व्यवसायबाट जीविकोपार्जन गरिरहेका सुरेश

धनगढी–३ बोराडाँडीका सुरेश विश्वकर्माले वार्षिक १ लाख ५० हजार रुपैयाँ तिर्ने गरी जमिन भाडामा लिएर नर्सरी व्यवसाय गर्दै आएका छन्। हालसम्म ५० लाख रुपैयाँ लगानी भएको छ।

कैलाली– धनगढी उपमहानगरपालिका–३ बोराडाँडीका युवा व्यवसायी सुरेश विश्वकर्माले लामो समयदेखि नर्सरी व्यवसाय गर्दै आएका छन्। उनले यस व्यवसायबाट मासिक ४० हजार रुपैयाँ बचत गर्दै आएका हुन्। 

विश्वकर्माले काठमाडौँमा बिरुवासम्बन्धी काम गर्दै आएको एउटा कम्पनीमा जागिर गरी कामको अनुभव लिएर नर्सरी व्यवसाय थालेका थिए। उनले वार्षिक १ लाख ५० हजार रुपैयाँ तिर्ने गरी चार कट्ठा जमिन भाडामा लिएका छन्। हालसम्म ५० लाख रुपैयाँ लगानी भएको छ। यो व्यवसायबाट मासिक ४० हजार रुपैयाँ बचत हुने गरेको छ। 

परिवारमा श्रीमान्, श्रीमती, बुवाआमा र दुई छोराछोरी छन्। परिवारको लालन पालनका साथै छोराछोरीको शिक्षादीक्षा यसै व्यवसायबाट धान्दै आएका छन्। व्यवसायमा काम गर्ने तीन जना कामदारलाई मासिक १२ हजार रुपैयाँका दरले तलब दिँदै आएको विश्वकर्माले जानकारी दिए। 

“अन्यभन्दा यो व्यवसाय अलिकति जोखिम छ,” उनले भने, “कहिलेकाहीँ प्रतिकूल वातावरणका कारण बिरुवामा विभिन्न असर देखापरे बिग्रने, कुहिने, रोग लाग्ने गर्छ, जसले गर्दा घाटा बेहोर्नुपर्ने हुन्छ।” 

धन आर्जन गर्न विदेश मात्र नभई स्वदेशमा पनि केही गर्न सकिन्छ भन्ने मान्यताबाट व्यवसाय शुरू गरेको विश्वकर्माले बताए। झापा, विराटनगर, इटहरी र कञ्चनपुरलगायत स्थानबाट विभिन्न जातका फलफूललगायत बिरुवा ल्याएर बिक्री गर्दै आएका छन्। केही बिरुवा नर्सरीमा आफै उत्पादन गर्ने गरेको उनको भनाइ छ।