ओली भन्छन्– एमाले सरकार बनाउने खेलमा सामेल हुँदैन

एमाले अध्यक्ष ओलीले देश र जनताका लागि भन्दा पनि आफ्नो स्वार्थ पूरा गर्न सत्तारूढ दलहरू सरकार बनाउने खेलमा लागेकाले आफ्नो पार्टी त्यसमा सामेल नहुने बताएका छन्।

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा सहभागी नहुने बताएका छन्। उनले सत्तारूढ गठबन्धनले सरकार गठनका लागि फोहोरी उद्देश्य र अभ्यास गरिरहेको भन्दै आफ्नो पार्टी त्यसको विरुद्धमा रहेको बताएका हुन्।

उनले एमालेले सत्तामा रहे पनि, प्रतिपक्षमा रहे पनि राष्ट्र र जनताको हितमा सक्रिय र जिम्मेवार भूमिका निर्वाह गर्ने उल्लेख गरे। राष्ट्रियता, लोकतन्त्र, स्वच्छता, सुशासनयुक्त कानुनी राज, आर्थिक र सामाजिक विकास, सामाजिक न्याय र समानता, शान्ति सुव्यवस्थालगायत नागरिक सम्मान एवं राजनीतिक, सामाजिक स्थिरता र स्थायित्वको पक्षमा दृढतापूर्वक देश र जनताको सेवा गर्न आफ्नो पार्टी लागी पर्ने बताए।

मंगलबार पार्टीले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले एमालेबाहेक अन्य दलसँग सरकार बनाएर के गर्ने भन्ने कुनै गन्तव्य नै नभएको बताए।  "दलहरू नेताका स्वार्थ, लोभ र पदीय आकांक्षाका बन्धक बनेका छन्। त्योभन्दा बाहिर जान सक्दैनन्। किनभने उनीहरूसँग विचार, उद्देश्य, गन्तव्य छैन", उनले भने, "दलहरूलाई देशको अवस्थाप्रति चिन्ता छैन।"

उनले देश र जनताका लागि भन्दा पनि आफ्नो स्वार्थ पूरा गर्न सत्तारूढ दलहरू सरकार बनाउने खेलमा लागेकाले आफ्नो पार्टी त्यसमा सामेल हुने सुनाए।

‍ओलीले पार्टी र पार्टी संसदीय दलको नीति, निर्णय र निर्देशनअनुसार चल्न पार्टीका नवनिर्वाचित सांसदलाई निर्देशन दिए। सच्चा जनप्रतिनिधिका रूपमा संसद्‍भित्र र बाहिर पनि वैचारिक रूपमा स्पष्ट र योजनाबद्ध ढंगले अघि बढ्न उनले सांसदलाई सचेत गराए।

ओलीले एमालेले देश र जनताको हितबाहेक अरू केही पनि नहेर्ने भएकाले सांसदले पनि आफ्नो पार्टी र पार्टी संसदीय दलको आदेश र निर्देशलाई दृढताका साथ पालना गर्नुपर्ने तर्क गरे।

ओलीले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा निर्वाचन आयोगले निष्पक्ष र प्रभावकारी भूमिका खेल्ने नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे। बुथ क्याप्चर भएको ठाउँमा पनि निर्वाचन नदोहोर्‍याएर आयोग आफ्नो कर्तव्य निर्वाह गर्नबाट चुकेको उनको आरोप थियो।

"नेपालजस्तो ठाउँमा ९८-९९ प्रतिशत भोट खस्नु, मरेका मानिसले भोट हाल्नु, विदेश भएकाले भोट हाल्नुजस्ता कुराहरू भए। देख्नुपर्ने ठाउँबाट ती देखिएन। नदेखेझैँ गरियो। यो वास्तवमै दुखद कुरा हो", उनले भने।