वीरगन्जबाट ८ महिनामा ५३ अर्ब २६ करोडका वस्तु निर्यात

चालु आवमा भटमासको तेल निर्यात बढेको छ। बितेका आठ महिनामा २८ अर्ब १९ करोड रुपैयाँ मूल्य बराबरको १३ करोड ४७ लाख १० हजार लिटर भटमासको तेल निर्यात भएको हो।

वीरगन्ज– वीरगन्ज भन्सारबाट चालु आर्थिक वर्षको आठ महिनामा ५३ अर्ब २६ करोड रुपैयाँ मूल्य बराबरका सामान निर्यात भएका छन्। गत आवको सोही अवधिको तुलनामा यो १७२.०१ प्रतिशतले बढी हो।

वीरगन्ज भन्सार कार्यालयका प्रमुख दीपक लामिछानेका अनुसार चालु आवमा भटमासको तेल निर्यात बढेको छ। बितेका आठ महिनामा २८ अर्ब १९ करोड रुपैयाँ मूल्य बराबरको १३ करोड ४७ लाख १० हजार लिटर भटमासको तेल निर्यात भएको हो।

यसैगरी, ४ अर्ब ८८ करोड रुपैयाँ बराबरको जुस र ३ अर्ब ६८ करोड रुपैयाँ मूल्य पर्ने फलाम तथा फलामका सामग्री निर्यात भएको छ।