शेयर बजार पुनः ओरालो यात्रामा, ५८ अंकले घट्यो नेप्से परिसूचक

मंगलबार नेप्से परिसूचक ५८.०५ अंकले घटेर २५८२.७३ को विन्दुमा कायम भएको छ भने पाँच अर्ब १८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

काठमाडौँ– अघिल्लो सातादेखि लगातार घटेर सोमबार थामिएको शेयर बजारको ओरालो यात्राले मंगलबार पुनः निरन्तरता पाएको छ।

सोमबार २६ अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) मंगलबार २.१९ प्रतिशतले घटेको छ। नेप्सेका अनुसार मंगलबार परिसूचक ५८.०५ अंकले घटेर २५८२.७३ को विन्दुमा कायम भएको हो। नेप्से परिसूचक घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।

यस दिन विभिन्न ३२५ वटा कम्पनीको  एक करोड ११ लाख ५५ हजार ९५५ कित्ता शेयर ६२ हजार २१ पटक खरिदबिक्री भएको छ। जसबाट पाँच अर्ब १८ करोड सात लाख १८ हजार ७०८ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। सोमबार चार अर्ब ४८ करोड ३५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।

मंगलबार सबै समूहको उपसूचकमा गिरावट आएको छ। बैंकिङ १.४०, विकास बैंक ३.२६, वित्त ३.४१, होटल तथा पर्यटन २.८३, जलविद्युत् ३.०८, लगानी १.९८, जीवन बीमा २.२४ र उत्पादन तथा प्रशोधनको उपसूचक १.४९ प्रतिशतले घटेको छ। त्यस्तै, लघुवित्त २.३०, म्युचुअल फन्ड ०.५१, निर्जीवन बीमा २.३८, अन्य १.६४ र व्यापार समूहको उपसूचक १.६० प्रतिशतले घटेको छ।

यस दिन धेरै मूल्य बढेका पाँच वटा कम्पनीमा सबै म्युचुअल फन्ड रहेका छन्। ९.५ प्रतिशत एनसीसी डिबेन्चर २०८६ (एनसीसीडी८६) को शेयर मूल्य सबैभन्दा धेरै ४.५२ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै घट्नेमा भने नारायणी विकास बैंकको शेयर मूल्य ८.७३ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आइतबार सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको २३ करोड २० लाख सात हजार १६५ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा भने सबैभन्दा धेरै घलेम्दी हाइड्रोको चार लाख ६१० कित्ता शेयर किनबेच भएको छ।