पाँचथरको तुम्बेवा र तेह्रथुमको छथर गाउँपालिकाबीचमा रहेको हाक्पाराघाट पुल सम्पन्न भएमा सिधुवा–शुक्रबारे–फाक्चामारा–हाक्पाराघाट सडक तमोर करिडोरमा जोडिनेछ।
तेह्रथुम– तमोर करिडोरले (सुनसरी–पाँचथर–ताप्लेजुङ) सडकले पूर्वी पहाड र तराईको दूरी छोट्याएको छ। तर तेह्रथुमको दक्षिणी भेगका नागरिकले भने यसबाट लाभ लिन पाएका छैनन्। किनभने तमोर कडिडोरले तेह्रथुमलाई छुँदैन। बीचमा रहेको तमोरमा पुल बनेको छैन।
निर्माणाधीन पुल पनि पाँच वर्षदेखि अलपत्र छ। पाँचथरको तुम्बेवा र तेह्रथुमको छथर गाउँपालिका जोड्ने यो पुल निर्माणको पर्खाइमा स्थानीय छन्। पुल सम्पन्न भएमा सिधुवा–शुक्रबारे–फाक्चामारा–हाक्पाराघाट सडक तमोर करिडोरमा जोडिनेछ। २०७६ सालमा ठेक्का लागेको उक्त पुल राजनीतिक नेतृत्व र सरकारी निकायको बेवास्ता, ठेकेदारको लापरबाहीले अलपत्र परेको हो। केही स्थानीयले पनि निर्माणमा अवरोध गरेका थिए।
तेह्रथुमकी प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री सीता गुरुङले लामो समयदेखि पुल अलपत्र रहेको बताइन्। आफूले निरन्तर दबाब दिए पनि काम हुन नसकेको उनको भनाइ छ। “यो पुल बन्नुपर्छ भनेर मैले शुरूदेखि नै निरन्तर दबाब दिइरहेँ,” स्थानीय जनप्रतिनिधि र सरकारी अधिकारीसहित हाक्पाराघाट पुगेकी उनले भनिन्, “निर्माण कम्पनी र स्थानीयबीच समयमा नै काम सक्न समझदारी गराएका छौँ।”
पुलसम्म पुग्ने पुरानो पहुँच सडक नै मासिएको र नयाँ पहुँच सडकका लागि स्थानीयको असहमति हुँदा पुल निर्माणको काम प्रभावित भएको थियो। स्थानीय, जनप्रतिनिधि, दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसमेतको उपस्थितिमा छलफलपछि २०८३ मंसिरभित्र पुल निर्माण सम्पन्न गर्ने सहमति भएको गुरुङले बताइन्। सांसद गुरुङसँगै लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुनबाबु माबोहाङ, छथर गाउँपालिकाका अध्यक्ष सन्तोष तिगेला, पाँचथरको तुम्बेवा गाउँपालिकाका अध्यक्ष बाबुराम खड्का तथा वडाध्यक्षहरू हाक्पाराघाट पुगेका थिए।
सिधुवा-शुक्रबारे सडक कालोपत्रे भइसकेको छ। शुक्रबारेदेखि पञ्चकन्यासम्म स्तरोन्नतिको क्रममा छ। त्यहाँदेखि हाक्पाराघाटसम्म भने ट्र्याक मात्रै खुलेको छ। ट्र्याक खुलेको पनि दशक बितिसकेको छ। १४६ मिटर लम्बाइ रहेको हाक्पाराघाट पुल निर्माणका लागि सुनसरीको इलाइट-सूर्य जेभीले २२ करोड ३७ लाख १८ हजार रुपैयाँमा ठेक्का पाएको थियो। पछिल्लो पटक म्याद थप गरेपछि काम पूरा गर्नुपर्ने म्याद ०८३ मंसिरसम्म छ।
प्रदेश सरकारले यस वर्ष पुलका लागि ७ करोड ४० लाख रुपैयाँ विनियोजन गरेको छ। तर आर्थिक वर्षको ६ महिना बितिसक्दा पनि काम हुन सकेको छैन। हाल तुम्बेवातर्फ पुल निर्माणको काम गरिरहेको निर्माण कम्पनीले अब तेह्रथुमतर्फ पिलर निर्माण गरी काम थाल्ने तयारी गरेको छ।
“पुल निर्माण पाँचथरतर्फबाट शुरू भयो। निर्माण कम्पनीले काम नै नगरेको पनि होइन, तर गति ढिलाइ भयो भनेर गुनासो आइरहेको छ,” तुम्बेवा गाउँपालिका अध्यक्ष बाबुराम खड्काले भने, “यसलाई एक हिसाबले राजनीतिक रूपमा निकास दिने काम भएको छ। निर्माण कम्पनीलाई काम गर्न सजिलो भएको छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
