सेन्टर प्लाजा आगलागी: ११ जनाको उद्धार

आगलागीमा फसेका तीन महिला र आठ पुरुषको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। आगो निभाउने प्रयास जारी छ।

इटहरी– इटहरीको मुख्यचोकमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा आगलागीमा फसेका ११ जनाको उद्धार गरिएको छ।

उद्धार गरिएकामा तीन महिला र आठ पुरुष रहेका कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी राजन अधिकारीले जानकारी दिए। आगो निभाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका गरी झन्डै ३०० सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए। 

विभिन्न स्थानीय तहका १२ दमकलसमेत प्रयोग गरिएको छ। १० तले भवनको मध्यभागमा बुधबार बिहान आगो लागेको हो। भवनको विभिन्न तलामा सर्वसाधारण फसेको जानकारी लगत्तै गृह मन्त्रालयले उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर पठाएको थियो। 

हेलिकोप्टरद्वारा भवनमा फसेकाहरूको उद्धार गरिएको छ। आगो निभाउने प्रयास जारी रहेको डीआईजी अधिकारीले बताए।