प्रतिपक्षद्वारा राष्ट्रियसभाको बैठक अवरुद्ध

प्रतिपक्ष दलका सांसदहरूले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएकोप्रति विरोध जनाउँदै बैठक अवरुद्ध गरेका हुन्।

काठमाडौँ– प्रतिपक्ष दलहरूले राष्ट्रियसभाको बैठक अवरुद्ध गरेका छन्। प्रतिपक्ष दलका सांसदहरूले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएकोप्रति विरोध जनाउँदै बैठक अवरुद्ध गरेका हुन्। उनीहरूले निर्देशक घिसिङलाई हटाउनुपर्ने कारणबारे प्रधानमन्त्रीले सभालाई जानकारी गराउनुपर्ने माग राखेका छन्।

सांसद गोपीबहादुर सार्की अछामीले भने, “कुलमान घिसिङको प्राधिकरणमा सेवा अवधि पनि धेरै थिएन, मात्रै चार महिना सेवा अवधि बाँकी थियो, चार महिना मात्रै सेवा अवधि हुँदै गर्दा घिसिङलाई हटाउनुपर्ने त्यस्तो के बाध्यता आइलाग्यो सरकारलाई?”

लोडसेडिङ हटाएबापत पुरस्कृत गर्नुपर्ने कार्यकारी निर्देशक घिसिङलाई पदबाट हटाएको सांसद अछामीको भनाइ छ। सांसदहरूले बैठक अवरुद्ध गरेपछि अध्यक्ष नारायणप्रसाद दाहालले १५ मिनेटका लागि स्थगित गरेका छन्।

प्रतिनिधिसभाको बैठक पनि अवरुद्ध भएको छ। घिसिङलाई पदबाट हटाएकै विषयमा प्रतिपक्षी दलले प्रधानमन्त्रीको जवाफ माग गर्दै प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेका हुन्। सभामुख देवराज घिमिरेले ३० मिनेटका लागि स्थगन गरेको बैठक अहिलेसम्म सुचारु हुन सकेको छैन।