सीले गरे शून्य कोभिड नीतिको बचाउ

सीले शून्य कोभिडको नीतिलाई भाइरस फैलिनबाट रोक्ने जनताको लडाइँका रूपमा व्याख्या गरे। 

तस्वीर: सिन्ह्वा

काठमाडौँ- चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को २०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनसँगै चीनले सीपीसी र देशका आगामी पाँच वर्षका लागि लक्ष्य र नीति तथा कार्यक्रम तय गरेको छ। 

महाधिवेसनमा बोल्दै चिनियाँ राष्ट्रपति सी चिनफिङले सीपीसीले विगतका दशकमा ऐतिहासिक सफलता एवं आमूल परिवर्तन हासिल गरेको बताए। चीनलाई आधुनिक समाजवादी राष्ट्र बनाउन आगामी पाँच वर्ष महत्त्वपूर्ण हुने पनि उनले बताए। 

साथै, सीले आधुनिक समाजवादी राष्ट्र बनाउन नवीन एवं उच्चस्तरीय विकास ढाँचाको निर्माण, शिक्षा तथा विज्ञान र सबै प्रकारका गुणस्तरीय विकासका पक्षलाई समेट्ने योजना सुनाए। उनले चीनको भविष्य उज्वल भए पनि अझै लामो बाटो तय गर्नुपर्ने बताए। 

यद्यपि, उनले विवादास्पद शून्य कोभिड नीतिको बचाउ गरे। सीले विवादास्पद शून्य कोभिड नीति लचिलो नहुने स्पष्ट पारेका छन्। शून्य कोभिडको नीतिलाई उनले भाइरस फैलिनबाट रोक्ने जनताको लडाइँका रूपमा व्याख्या गरे। 

तर, चीनले अपनाएको शून्य कोभिड नीतिले जनताको ज्यान बचाउन मद्दत गरे पनि यसले अर्थतन्त्र र विभिन्न पक्षमा क्षति पुर्‍याएको भन्दै आलोचनासमेत हुने गरेको थियो। 

पछिल्ला दशकमा चीनले आर्थिक क्षेत्रमा ऐतिहासिक सफलता हासिल गरेको दाबी गर्दै राष्ट्रपति सीले समाज, अर्थतन्त्र, कूटनीतिबारे आगामी दिनमा चालिने कदमबारे समेत आफ्नो धारणा राखेका थिए। 

ताइवानलाई चीनसँग एकता गर्ने आधार निर्माण गर्नेमा जोड दिने र ताइवानसम्बन्धी विवाद सुल्झाउन चाहेको समेत बताए। यसै क्रममा उनले कुनै विदेशीशक्तिले धम्काए उनीहरूको शिरमै प्रहार गर्ने चेतावनीसमेत दिए।