काठमाडौँमा अनलाइन जुवा खेलाउने ११ जना भारतीय पक्राउ, झन्डै ३ अर्बको कारोबार

प्रारम्भिक अनुसन्धानबाट उनीहरूले २ अर्ब रुपैयाँभन्दा बढीको अनलाइन जुवा खेलाएको र ९६ लाख ३३ हजार रुपैयाँभन्दा बढीको क्रिप्टोकरेन्सी कारोबार गरेको खुलेको प्रहरीले जनाएको छ।

काठमाडौँ– अनलाइन जुवा (सट्टाबाजी) खेलाउने र क्रिप्टोकरेन्सीको कारोबार गर्ने ११ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

बुढानीलकण्ठ नगरपालिका–३ देउला टोलस्थित घर भाडामा लिई अनलाइन जुवा खेलाइरहेको सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको बुधबार प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा राजस्थानका सनी मिणा, मोहित वर्मा, पियुष भारद्वाज, हरकेश डडैया, निशान्त भारद्वाज, आकाश वर्मा, अंकित कुमार सैनी, सञ्जु शाकला, रामसिंह जाठ, लोकेश कुमार र विकास कुमार रहेका छन्। उनीहरू सबै १९ देखि २८ वर्ष उमेरका रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट ३४ थान मोबाइल फोन, ५ थान ल्यापटप, ४ थान हिसाबकिताबको नोटबुक, १४ थान भारतीय बैंक खाताको चेकबुक, २७ थान भारतीय एटीएम कार्ड र ४० थान भारतीय सिमकार्ड बरामद गरेको छ।

प्रारम्भिक अनुसन्धानबाट उनीहरूले २ अर्ब रुपैयाँभन्दा बढीको अनलाइन जुवा खेलाएको र ९६ लाख ३३ हजार रुपैयाँभन्दा बढीको क्रिप्टोकरेन्सी कारोबार गरेको खुलेको छ। उनीहरूलाई काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।