उत्तर कोरियाले थप ३ हजार सेना रुस पठायो

मस्कोलाई किएभसँग लड्न सहयोग पुर्‍याउन उत्तर कोरियाले सैनिकसँगै क्षेप्यास्त्र, तोपखाना र गोलाबारुदसमेत आपूर्ति गरिरहेको दक्षिण कोरियाले जनाएको छ।

उत्तर कोरियाले यस वर्ष थप तीन हजार सैनिक रुस पठाएको दक्षिण कोरियाले जनाएको छ। मस्कोलाई किएभसँग लड्न सहयोग पुर्‍याउन सैनिकसँगै क्षेप्यास्त्र, तोपखाना र गोलाबारुदसमेत आपूर्ति गरिरहेको जनाइएको छ। 

“सन् २०२२ मा मस्कोले युक्रेनमाथि गरेको आक्रमणपछि परम्परागत मित्र राष्ट्र रुस र उत्तर कोरिया नजिकिएका छन्,” दक्षिण कोरियाली सेनाले भनेको छ, “नेता किम जोङ उनले मस्कोलाई सहयोग गर्न हजारौँ सैनिक र हतियारका कन्टेनर पठाएको छ।”

मस्को र प्योङयाङ दुवैले सैनिक तैनाथीको औपचारिक पुष्टि गरेका छैनन्। गत वर्ष रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाको भ्रमण गर्दा दुई देशले पारस्परिक प्रतिरक्षासम्बन्धी धारासहित व्यापक सैन्य सम्झौतामा हस्ताक्षर गरेका थिए।

रुसमा पठाइएको उत्तर कोरियाका प्रारम्भिक ११ हजार सैनिकमध्ये चार हजार मारिएको वा घाइते भएको अनुमान गरिएको छ । “अहिलेसम्म उत्तर कोरियाले महत्त्वपूर्ण मात्रामा छोटो दूरीको ब्यालिस्टिक क्षेप्यास्त्र, १७० एमएम सेल्फ प्रोपेल्ड गन र २४० एमएम मल्टिपल रकेट लञ्चरका करिब २२० युनिट उपलब्ध गराएको आकलन गरिएको छ,” विज्ञप्तिमा भनिएको छ।

संयुक्त राष्ट्रसंघको प्रतिबन्धको उल्लंघन गर्दै उत्तर कोरियाले गत वर्ष ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो। आणविक शक्ति सम्पन्न उत्तर कोरियाले युक्रेनविरुद्ध प्रयोग गर्ने रुसमा निर्यातका लागि हतियारको परीक्षण गर्न सक्ने विज्ञहरूले चेतावनी दिएका छन्।