अमेरिका आयात हुने सवारीमा २५ प्रतिशत थप कर लगाउने ट्रम्पको घोषणा

ट्रम्पले सरकारी राजस्व बढाउन र अमेरिकी उद्योगलाई पुनर्जीवित गर्ने उपायका रूपमा कर बढाउने निर्णय गरेको बताएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सवारीसाधन आयात र पार्टपुर्जामा चर्को कर लगाउने घोषणा गरेका छन्। अमेरिकाका व्यापारिक साझेदारले ट्रम्पको पछिल्लो करनीतिको प्रतिकार गर्ने चेतावनी दिएका छन्।

ट्रम्पको बुधबार अपराह्नको घोषणाअघि वाल स्ट्रिटमा गिरावट आएको छ भने विश्वको सबैभन्दा बढी बिक्री हुने टोयोटाको मूल्य तीन प्रतिशतभन्दा बढीले घटेको छ।

जापानका प्रधानमन्त्री शिगेरु इसिबाले टोकियोले ‘सबै प्रकारका प्रतिकारात्मक उपायमा विचार गरिरहेको’ बताएका छन्। क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले ट्रम्पको करलाई आफ्नो देशका कामदारमाथि ‘सिधा आक्रमण’को संज्ञा दिएका छन्। ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले पनि आफ्नो देश ‘स्थिर रहन नसक्ने’ बताएका छन्।

ओभल अफिसमा आदेशमा हस्ताक्षर गर्दै ट्रम्पले भने, “संयुक्त राज्य अमेरिकामा नबनेका सबै कारहरूमा २५ प्रतिशत कर लाग्ने गरी हामीले निर्णय लिएका छौँ।”

घोषणामा भनिएको छ, “यो शुल्क अमेरिकी समय अनुसार अप्रिल ३ राति १२ः०१ बजे पछि लागू हुनेछ र यसले विदेशमा निर्मित कार र हल्का ट्रकलाई असर गर्नेछ। अटोमोबाइलका मुख्य पार्टपुर्जा पनि एक महिनाभित्रै प्रभावित हुनेछन्।”

ट्रम्पले क्यानडा र युरोपेली संघले अमेरिकालाई ‘आर्थिक क्षति’ पुर्‍याउन मिलेर काम गरेमा ‘हालको योजनाभन्दा धेरै ठूलो मात्रामा’ कर लगाउने चेतावनी दिएका छन्। 

ट्रम्पका व्यापार र उत्पादनका लागि वरिष्ठ परामर्शदाता पिटर नाभारोले ट्रम्पको घोषणापछि पत्रकारसँगको एक साक्षात्कारमा ‘विदेशी व्यापार छली’को आलोचना गर्दै यसले अमेरिकाको विनिर्माण क्षेत्रलाई ‘न्यून ज्यालामा काम गर्ने विदेशीका लागि सुरक्षित गरेको बताए।

उनले जर्मनी र जापानले उच्च मूल्यका पार्टपुर्जाको निर्माणलाई आफ्नो देशमा नै केन्द्रित गरेर सस्तो उपकरण निर्यात गरेको भन्दै आलोचना गरे।

पछिल्लो कर नीतिले ट्रम्पका सहयोगी तथा टेस्लाका मालिक एलन मस्कले आफ्नो फर्मलाई ‘प्रभावित’ नगरेको बताएका छन्। गत जनवरीमा आफ्नो दोस्रो कार्यकाल शुरू गरेदेखि ट्रम्पले अमेरिकाका प्रमुख व्यापारिक साझेदार क्यानडा, मेक्सिको र चीनबाट आयात हुने सामानमा नयाँ कर लगाउनुका साथै स्टिल र आल्मुनियममा २५ प्रतिशत कर लगाएका छन्।

नयाँ कर उत्पादनका लागि पहिले नै लगाइएका करको अतिरिक्त कर हुनेछ तर ह्वाइट हाउसले अमेरिका–मेक्सिको–क्यानडा सम्झौता (यूएसएमसीए)अन्तर्गत प्रवेश गर्ने सवारीसाधनले आफ्नो अमेरिकी सामग्रीको आधारमा कम दरका लागि योग्य हुन सक्ने बताएको छ।

ट्रम्पको व्यापार योजनामा अनिश्चितता र यसले मन्दी निम्त्याउन सक्ने चिन्ताले वित्तीय बजारलाई तरंगित बनाएको छ र हालैका महिनामा उपभोक्ताको विश्वास पनि घटेको छ।  

ट्रम्पको घोषणाअघि नै जनरल मोटर्स र स्टेलेन्टिसको शेयर तीन प्रतिशतभन्दा बढीले घटेको थियो। जापानमा कार निर्माता कम्पनी निसानले २.५ प्रतिशत, होन्डाले ३.१ प्रतिशत र मित्सुबिशी मोटर्सले ४.५ प्रतिशतका दरले गुमाएका छन् भने माज्दा र सुबारुले करिब ६ प्रतिशतले शेयर मूल्य गुमाएका छन्। दक्षिण कोरियाको हुन्डाइ कम्पनीको शेयर मूल्य २.७ प्रतिशतले घटेको छ।

ट्रम्पले सरकारी राजस्व बढाउन र अमेरिकी उद्योगलाई पुनर्जीवित गर्ने उपायका रूपमा आफ्नो कर नीतिको बचाउ गरेका छन्। तर आयातित कारलाई लक्षित गर्दा जापान, दक्षिण कोरिया, क्यानडा, मेक्सिको र जर्मनीजस्ता नजिकका साझेदारसँगको सम्बन्ध बिग्रन सक्ने जानकार बताउँछन्।

एशिया सोसाइटी पोलिसी इन्स्टिच्युटका उपाध्यक्ष तथा पूर्वअमेरिकी व्यापार वार्ताकार वेन्डी कटलरले भने, “आयातित कारमा २५ प्रतिशत कर लगाउँदा हाम्रा धेरै नजिकका व्यापारिक साझेदारमा विनाशकारी असर पर्नेछ।”

उनले वासिङ्टनले केही प्रभावित पक्षसँग स्वतन्त्र व्यापार सम्झौता गरेको र व्यापार सम्झौताअन्तर्गत अमेरिकी प्रतिबद्धताको मूल्यमा प्रश्न उठाएको बताएका छन्।

संयुक्त राज्य अमेरिकामा बिक्री हुने लगभग ५० प्रतिशत कारहरू देशभित्र निर्मित हुन्छन्। आयातमध्ये आधा मेक्सिको र क्यानडाबाट आयात हुन्छ, जापान, दक्षिण कोरिया र जर्मनी पनि प्रमुख आपूर्तिकर्ता हुन्।