अमेरिकामा पक्राउ परेकामध्ये ४ जना भुटानी शरणार्थीलाई पारो ‘डिपोर्ट’ गरियो

दक्षिणी भुटानका नेपालीभाषी नागरिक देश निकाला गर्न थालेको र शरणार्थी समस्या शुरू भएको तीन दशकपछि पहिलोपटक भुटानले ‘आफ्नो नागरिक’ स्विकार्दै भुटान प्रवेशमा अनुमति दिएको छ। 

काठमाडौँ– अमेरिकाको पेन्सिलभेनिया राज्यमा पक्राउ परेका भुटानी शरणार्थीमध्ये ४ जनालाई  ‘कमर्सियल विमान’मार्फत बिहीबार साँझ दिल्ली ट्रान्जिट हुँदै शुक्रबार बिहान भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थल ‘डिपोर्ट’ गरिएको छ।

दक्षिणी भुटानका नेपालीभाषी नागरिक देश निकाला गर्न थालेको र शरणार्थी समस्या शुरू भएको तीन दशकपछि पहिलो पटक भुटानले ‘आफ्नो नागरिक’ स्विकार्दै अमेरिकाले ‘डिपोर्ट’ गरेका ४ भुटानी शरणार्थीलाई पारो विमानस्थलसम्म आउने मार्ग प्रशस्त गरेको हो। ‘डिपोर्ट’मा परेका थप २ जना भुटानी शरणार्थी आइतबारसम्म पारो विमानस्थल उत्रिने जनाइएको छ।

अमेरिकी अध्यागमनको केन्द्रीय निकाय ‘इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आईसीई)’ले विभिन्न आपराधिक गतिविधिमा संलग्न भएको पुरानो रेकर्ड तथा अदालती फैसलाका आधारमा पछिल्लो दुई महिनामा ४० भन्दा बढी भुटानी शरणार्थी पक्राउ गरेको छ। अमेरिकी नागरिक पनि नबनेका र साथमा ग्रिनकार्ड पनि नरहेका यस्ता व्यक्ति पक्राउ हुने क्रम अहिले पनि जारी रहेको पेन्सिलभेनिया राज्यस्थित एक भुटानी नेपालीभाषी अभियन्ताले जानकारी दिए।

पूर्वी नेपालका झापा र मोरङमा रहेका सात वटा शिविर हुँदै पुर्नवास कार्यक्रममा सन् २०१७ अघि नै अमेरिका पुगेका भुटानी शरणार्थीको पहिचान र प्रमाणीकरणमा जहिल्यै ‘भगौडा’ बन्दै आएको भुटानले देश छाडेर जानेहरू ‘भुटानी नागरिक नरहेको’ जिकिर गर्दै आएको थियो। नेपालसँगको द्विपक्षीय वार्ताबाट पनि पन्छिँदै आएको भुटानलाई अमेरिकाले आफ्नो ट्राभल–एडभाइजरीमा ‘रेड–लिस्ट’मा राखेपछि बाध्य भएर आफ्ना नागरिक जिम्मा लिन राजी भएको हो। 

“हो, मेरो भाइ भुटानमै जन्मेको हो। तर सन् २०१३ मै पुनर्वासमा परेर हामी अमेरिका आएका थियौँ। एउटा आपराधिक घटनामा परेर सन् २०१७ देखि प्रहरी निगरानी, सोधपुछ र अदालती प्रक्रियासम्म पुगेको भए पनि यसरी ‘डिपोर्ट’ गरिनेबारे अनुमान थिएन,” डिपोर्टमा परेकामध्ये एक युवाका आफन्तले पेन्सिलभेनियाबाट फोनमा भने, “भाइ र उसका साथीहरू हिजो दिल्ली विमानस्थल पुगेकोबारे जानकारी भयो। शुक्रबार बिहान पारो विमानस्थल लगिँदै छ भन्नेसम्म थाहा भयो। अरू विस्तृतमा थाहा छैन।”   

‘कमर्सियल फ्लाइट’ हुँदै बिहीबार साँझ दिल्ली उत्रिएपछि त्यहाँस्थित भुटानी नियोगबाट आएकी एक कूटनीतिज्ञले ‘डिपोर्टमा परेर आएका चार जनालाई पारो विमानस्थल लगिने र स्वतन्त्र रूपमा भुटानमा बसोबास गर्न दिइने’ भनेर अधिकारीमाझ सुनाएकी थिइन्। “उता लगेर जेल हालिने हो कि के हो, थाहा भएन। तर स्वतन्त्र छाडिने भनिएको छ अरे,” ती आफन्तले भने। 

पुनर्वासमा अमेरिका गएका भुटानी शरणार्थीको हक–अधिकारमा बहसपैरवी गर्दै आएका अगुवा विश्व क्षेत्रीका अनुसार, अहिले पक्राउ गरिएका यी भुटानी आप्रवासी तत्कालको कुनै घटनाले नभई सन् २०१२ यताकै आपराधिक घटनाक्रममा मुछिएका व्यक्ति हुन्। बिशेषत ट्रम्प शासन शुरू भएयता अमेरिकी प्रशासनले आप्रवासी समुदाय र गैरकानूनी तवरबाट बसोबास गर्ने जोकोहीलाई अनुसन्धानको घेरामा पारेपछि शरणार्थी हैसियतमा रहेका भुटानी नागरिक पनि तानिएका हुन्। अहिलेसम्म एरिजोना, टेक्सास, एक्रोन–ओहायो, सिनसिन्नाटी, पिट्सबर्ग, हेरिसबर्गलगायत स्थानबाट आईसीईले पक्राउ गरेका सबै भुटानी मुलका व्यक्ति रहेका छन्। यसमध्ये पेन्सिलभेनिया राज्यबाट मात्रै ३० भन्दा बढी छन्। कुनै प्रकारको अध्यागमन कानून उल्लंघनभन्दा पनि घरेलु हिंसा, यौनजन्य कसुर, व्यक्ति हत्या प्रयास वा लागुपदार्थ कसुरमा परेका र विगतमा जेलमा बसिसकेका व्यक्ति पक्राउ परेर आईसीई हिरासतमा रहेको क्षेत्रीले बताए।

यो पनि: अमेरिकामा पक्राउ परेका ४० भन्दाबढी भुटानी शरणार्थीलाई भुटान ‘डिपोर्ट’ गरिएला?

“गैर कानूनी हैसियतका आप्रवासीलाई अनुसन्धानको दायरामा ल्याउनु र घरफिर्ती गराइनु अमेरिकी प्रशासनको पछिल्लो कडाइयुक्त कदम हो नै। तर, त्योभन्दा पनि आजका मितिसम्म भुटानले अस्वीकार गर्दै आएको भुटानी शरणार्थीको मामलालाई ‘डिपोर्टेसन’ मान्य भएकै अवस्थामा भए पनि स्वीकार गर्नु पनि आफैमा एउटा ठूलो घटना हो,” मानवअधिकारकर्मी गोपालकृष्ण शिवाकोटी भन्छन्, “अब फेरि भुटानले विगतकै नजिरमा अहिले पारो पुगेका भुटानी शरणार्थीलाई फुन्चोलिङ–जयगाउँ (भारत) बोर्डरमा ल्याएर छाडिदिने सन्त्रास यथावत् छँदैछ, त्यसपछि भारतीय प्रशासनले मेचीपुलमा ल्याएर यी शरणार्थी छाडिदिन सक्ने आशंका बढेको छ। यसतर्फ नेपाल सरकारको ध्यान जानु जरुरी छ।” 

अमेरिकामा भूटानी शरणार्थी पक्राउ भएको घटनालाई केही भुटानी मूलधारका मिडियाले ‘यो नक्कली भुटानी शरणार्थीको उपज’ भन्दै अपव्याख्या गर्न खोजे पनि यो गलत तथ्यको प्रतिवाद स्वयं अमेरिकास्थित आप्रवासी भुटानी समाजले गर्दै आएको छ। अहिले पक्राउ परेका सबै भुटानी शरणार्थी सन् २०१७ अघि पूर्वी नेपालका शरणार्थी शिविरमा बस्ने गरेको प्रमाण जुटिसकेको अभियन्ता क्षेत्रीले बताए।

‘‘विगतमा र अहिले पनि भूराजनीतिको विषय बनेको भुटानी शरणार्थी मुद्दाको पछिल्लो अवस्था तथा शिविरमा अल्झेर बसिरहेका ६ हजार ५०० शरणार्थीका बारेमा कुनै प्रकारको समाधानको उपाय दिन नसकिरहेको नेपालले यसबेला झन् चनाखो बन्ने अवस्था आएको छ,’’ शिवाकोटीले भने, ‘‘सधैँ झैँ फुन्चोलिङ–जयगाउँ–मेचीपुलको जबरजस्ती मार्ग प्रशस्त गर्ने रवैयाले नेपालको हैसियत र अवस्थालाई फेरि देखाउन सक्नेछ, गृह प्रशासनले जति चाँडो यो सरोकारमा ध्यान देखाउन सक्नुपर्छ।’’

भुटानी अधिकारकर्मी एवं लेखक डा. डीएनएस ढकालले पनि ‘आफ्ना नागरिकलाई जुनै अवस्थामा पनि घरफिर्ता लिनु’ एउटा कूटनीतिक विजयको संकेत रहेको र यसमा अमेरिकाले दिएको साथ ‘उल्लेख्य’ रहेको बताए। “तर, यसरी डिपोर्ट गरिएका भुटानी नागरिकलाई फेरि विगतकै नजिर टेकेर उही भारतीय बाटो हुँदै नेपाल ल्याएर छाड्ने अवस्था आएमा यसले समस्या सुल्झाउनेभन्दा बढी बल्झाउने निश्चित छ, यसमा सरोकारवाला सबैले आवाज उठाउनुपर्ने हुन्छ,” डा.ढकालले भने। पुर्नवास कार्यक्रममा झन्डै १ लाख १५ हजार भुटानी शरणार्थी तेस्रो देशमा बसोबासमा गएकोमा ९७ हजारभन्दा बढी अमेरिका पुगेका छन्।