म्यानमारमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

म्यानमारको सागिङ शहरको उत्तरपश्चिममा ७.७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षणले जनाएको छ। भूकम्पले राजधानी न्यापिडोका सडकहरू ध्वस्त पारेको छ भने भवनमा क्षति पुर्‍याएको छ।

म्यानमारमा शुक्रबार मध्यान्ह शक्तिशाली भूकम्प गएको छ। भूकम्पले राजधानी न्यापिडोका सडकहरू ध्वस्त पारेको छ भने भवनमा क्षति पुर्‍याएको छ। छिमेकी थाइल्यान्डका मानिससमेत सडकमा निस्किएका थिए। 

सागिङ शहरको उत्तरपश्चिममा ७.७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षणले जनाएको छ। केही मिनेटपछि सोही क्षेत्रमा ६.४ म्याग्निच्युडको अर्को भूकम्प गएको थियो।

एएफपीका अनुसार २० लेन चौडा राजमार्ग भएको राजधानी न्यापिडोमा भवनहरूका छतका टुक्राहरू खस्दै सडक भत्किएका छन्।

भूकम्पपछि हताहतको तत्काल कुनै खबर नआएको एएफपीले जनाएको छ। भूकम्पले उत्तरी थाइल्यान्डका नजिकैका शहरहरू र राजधानी बैंककसम्म आतंक फैलाएको थियो।