भूकम्पले बैंककमा ३० तले भवन ढल्दा फसे ४३ श्रमिक

भूकम्पका कारण बैंककस्थित निर्माणाधीन ३० तले भवन ढल्दा ४३ श्रमिक फसेको स्थानीय प्रहरीले जनाएको छ।

म्यानमारमा केन्द्रबिन्दु बनाएर शुक्रबार गएको शक्तिशाली भूकम्पका कारण बैंककस्थित एक सरकारी कार्यालयका लागि निर्माणाधीन ३० तले भवन ढल्दा ४३ श्रमिक फसेको प्रहरी र चिकित्सकले बताएका छन्।

थाइल्यान्डको राजधानीको उत्तरी भेगमा रहेको यो भवन भूकम्पका कारण केही सेकेन्डमा भग्नावशेषमा परिवर्तन भएको थियो।

शुक्रबार दिउँसो सागिङ शहरको उत्तरपश्चिममा ७.७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षणले जनाएको छ। केही मिनेटपछि सोही क्षेत्रमा ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो।

यसैबीच थाई अधिकारीहरूले बैंककमा आपत्कालीन अवस्था घोषणा गरेका छन्। म्यानमामा केन्द्रित भूकम्पले बैंकक शहरलाई आक्रान्त पारेपछि प्रधानमन्त्री सिनावात्राले शुक्रबार आपत्कालीन अवस्था घोषणा गरिएको बताए। 
 भूकम्पपछि बैंककका विभिन्न भवनहरूमा क्षति पुगेको बताइएको छ जसमध्ये शहरको उत्तरी भेगमा एउटा ३० तले निर्माणाधीन भवन ढलेको थियो।