कर्फ्यु लागू भएपछि कोटेश्वर क्षेत्रमा सेना परिचालित

काठमाडौँ प्रशासनले कोटेश्वर क्षेत्रमा कर्फ्युको आदेश जारी गरेसँगै कोटेश्वर क्षेत्रमा नेपाली सेना परिचालित भएको छ।

काठमाडौँ– राजावादी प्रदर्शनकारीले अराजक बनेपछि काठमाडौँ प्रशासनले कोटेश्वर क्षेत्रमा कर्फ्युको आदेश जारी गरेको छ। कर्फ्युको आदेश जारी भएपछि कोटेश्वर क्षेत्रमा नेपाली सेना परिचालित भएको छ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले शुक्रबार अपराह्न ४ः२५ देखि राति १० बजेसम्म कर्फ्यु जारी गरेका हुन्।

जिल्ला प्रशासन कार्यालयका अनुसार बानेश्वर–तीनकुने क्षेत्र, गौशाला–विमानस्थल–गैरीधारा–तीनकुनेहुँदै कोटेश्वरसम्म, कोटेश्वरदेखि जडीबुटी पुलसम्म कर्फ्यु आदेश जारी भएको छ।

त्यस्तै, कोटेश्वरदेखि बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शंखमूल पुलसम्म कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक घेराउ गर्न नपाउने गरी कर्फ्यु आदेश जारी भएको छ।

तीनकुनेमा निषेधित क्षेत्र तोड्दै घरमा तोडफोड तथा आगजनी गरेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो। झडपका क्रममा केही प्रहरी र प्रदर्शनकारी घाइते भएका छन्।

प्रहरीले स्थितिलाई सामान्य बनाउन पानीको फोहरा र टियर ग्यास प्रयोग गर्नुपरेको थियो। प्रदर्शनकारीले केही सवारीसाधनमा आगजनी गरेका छन्।