भूकम्पका कारण म्यानमार र थाइल्यान्डमा मृत्यु हुनेको संख्या १५० पुग्यो

शुक्रबार गएको शक्तिशाली भूकम्पमा परी म्यानमार र थाइल्यान्डमा १५० जनाको मृत्यु भएको छ।

शुक्रबार गएको शक्तिशाली भूकम्पमा परी म्यानमार र थाइल्यान्डमा १५० जनाको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन्। दर्जनौँ मानिस भत्किएका भवनहरूमा फसेका छन्। मृत्यु हुनेको संख्या बढ्ने अनुमान गरिएको छ।

शुक्रबार दिउँसो सागिङ शहरको उत्तरपश्चिममा ७.७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षणले जनाएको छ। केही मिनेटपछि सोही क्षेत्रमा ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो।

भूकम्पले म्यानमारमा भवन ध्वस्त भएका छन्, पुल तथा सडक भत्किएको छ। सयौँ किलोमिटर टाढा बैंककमा निर्माणाधीन ३० तले गगनचुम्बी भवन पनि लडेको छ।

यद्यपि प्रकोपको पूर्ण गम्भीरता अझै खुल्न सकेको छैन। गृहयुद्धबाट प्रभावित म्यानमारका नेताले अन्तर्राष्ट्रिय सहायताको लागि अपिल गरेका छन्।

जुन्टाका प्रमुख मिन आङ ह्लिङले १४४ जनाको ज्यान गएको र ७३२ जना घाइते भएको बताए। साथै, उनले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताए। थाइल्यान्डमा अहिलेसम्म तीन जनाको मृत्यु भएको पुष्टि भएको छ।

“केही ठाउँमा, केही भवनहरू भत्किए,” राजधानी नेपिडावको एक अस्पतालको भ्रमणपछि टेलिभिजनमा सम्बोधन गर्दै उनले भने, “म कुनै पनि देश, कुनै पनि संस्था वा म्यानमारका जो कोहीलाई पनि सहयोग गर्न आउन आमन्त्रित गर्न चाहन्छु।”