रवीन्द्र मिश्र, धवलशमशेर राणा र स्वागत नेपाल पक्राउ

प्रहरीले राजावादीको आन्दोलनमा संलग्न राप्रपाका नेताद्वय रवीन्द्र मिश्र, धवलशमशेर राणा र संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपाललाई पक्राउ गरेको छ।

काठमाडौँ– नेपाल प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताद्वय रवीन्द्र मिश्र, धवलशमशेर राणासहित राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपाललाई पक्राउ गरेको छ।

प्रहरीले राप्रपाका वरिष्ठ नेता मिश्र र महामन्त्री राणासहित नेपाललाई शुक्रबारको राजावादी प्रदर्शनका क्रममा भएको धनजनको क्षतिको घटनाबारे अनुसन्धान गर्न पक्राउ गरेको हो।

उपत्यका प्रहरी कार्यालयका एआईजी टेकबहादुर तामाङले शुक्रबारको घटनाको अनुसन्धानका क्रममा उनीहरूलाई पक्राउ गरिएको बताए। उनका अनुसार उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ।

शुक्रबार राजसंस्थाको समर्थनमा भएको आन्दोलनले उग्र रूप लिँदा एक जना सञ्चारकर्मीसहित दुई जनाको मृत्यु भएको थियो। प्रदर्शनकारीले विभिन्न पार्टीका कार्यालय, सर्वसाधारणको घर तथा सवारीसाधनमा तोडफोडका साथै आगजनी गरेका थिए। प्रदर्शनकारीले व्यापारिक प्रतिष्ठानमा पसेर लुटपाट समेत गरेका थिए। 

शुक्रबार साँज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले प्रदर्शनका क्रममा भएको तोडफोड, आगजनी र मृत्युको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ। बैठकले घाइतेहरूको निःशुल्क उपचार गर्ने निर्णय पनि गरेको छ।