राजावादीको प्रदर्शन: १४ स्थानमा आगजनी, ९ संस्था तथा कार्यालयमा तोडफोड

प्रदर्शनका क्रममा निषेधित क्षेत्रसमेत तोडी निजी सम्पत्ति, अस्पताल, सञ्चारगृह, राजनीतिक दलका कार्यालय, व्यापारिक क्षेत्रलगायत यातायातका सवारी साधनमाथि तोडफोड भएको प्रहरीले जनाएको छ।

काठमाडौँ– राजावादीले शुक्रबार काठमाडौँको तीनकुने क्षेत्रमा गरेको प्रदर्शनका क्रममा दुई जनाको मृत्यु भएको छ। प्रदर्शनकारीले १४ स्थानमा आगजनी र ९ संस्था तथा कार्यालयमा तोडफोड गरेका छन्। 

तीनकुने क्षेत्रमा शान्तिपूर्ण प्रदर्शनको लागि पूर्वअनुमति लिई भएको प्रदर्शनका क्रममा निषेधित क्षेत्रसमेत तोडी निजी सम्पत्ति, अस्पताल, सञ्चारगृह, राजनीतिक दलका कार्यालय, व्यापारिक क्षेत्रलगायत यातायातका सवारी साधनमाथि तोडफोड भएको प्रहरीले जनाएको छ।

तीनकुने घटनामा परी कीर्तिपुर–४ का सविन महर्जनको उपचारको क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निधन भएको घोषणा गरिएको प्रहरीले जनाएको छ। तीनकुनेस्थित मार्बल हाउसमा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजक मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। सो घटनामा परी नेपाल प्रहरीका ५३ जना, सशस्त्र प्रहरी बलका २२ र प्रदर्शनकारीतर्फ ३५ जना घाइते भएका थिए।

प्रदर्शनकारीले तीनकुनेको अन्नपूर्ण कम्प्लेक्स, मार्वल हाउस, कोटेश्वर महादेवस्थान, कार्गोको कम्पाउन्ड, कोटेश्वर गणेश चोक, भाटभटेनी नजिक सरकारी गाडीमा, जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्र, एकीकृत समाजवादी पार्टी कार्यालयमा आगजनी गरेका छन्। यसैगरी, बालकुमारीबाट काठमाडौँतर्फ आउने करिडोर बाटो, विमानस्थल बाहिर, सिनामंगलस्थित ईन्द्रेणी सहकारीको कार्यालय रहेको भवन, रोयल रेस्टुरेन्ट तथा एरोम्याक्सको कार्यालय रहेको भवनमा आगो लगाएका थिए।

तीनकुनेस्थित अन्नपूर्ण मिडिया हाउस, कान्तिपुर मिडिया हाउस, सिनामंगलस्थित केएमसी अस्पताल,  डीआईए अगाडी बन्दै रहेको नयाँ भवन, नेपाल प्रहरीद्धारा जडित दुई थान सीसीटीभी, प्रहरी बिट सिनामंगल, प्रहरी प्रभाग कोटेश्वर, ट्राफिक प्रहरी प्रभाग कोटेश्वर, एकीकृत समाजवादी पार्टी कार्यालयमा तोडफोड गरेर क्षति पुर्‍याएका छन्। कोटेश्ररस्थित भाटभटेनी सुपर मार्केटमा लुटपाटसमेत गरेको एसपी बोहराले जानकारी दिए।