अमेरिकाबाट दुई चरणमा डिपोर्ट गरिएका १० शरणार्थीलाई भुटानले पारो विमानस्थलमा स्वागत गर्दै खानपिन गराएर सीमावर्ती नाका फुन्चोलिङ–जयगाउँ (भारत)मा ल्याएर शुक्रबार दिउँसो छाडिदिएको थियो।
झापा– शुक्रबार मात्रै अमेरिकाबाट भुटानको पारो ‘डिपोर्ट’ गरिएका भुटानी शरणार्थीमध्ये तीन जना झापाको दमकस्थित बेलडाँगी शरणार्थी शिविर आइपुगेका छन्।
आपराधिक गतिविधिमा संलग्न भएका कारण अमेरिकाबाट दुई चरणमा भुटान डिपोर्ट गरिएका १० शरणार्थीलाई भुटानले पारो विमानस्थलमा स्वागत गर्दै खानपिन गराएर सीमावर्ती नाका फुन्चोलिङ–जयगाउँ (भारत)मा ल्याएर शुक्रबार दिउँसो छाडिदिएको थियो। त्यहाँबाट भारतले पूर्वी नेपालको सीमावर्ती विन्दु पानीट्यांकीमा ल्याएर शुक्रबार अपराह्न छाडिदिएकोमा तीन जना भने अनधिकृत तवरमा नेपाल छिरेका हुन्। उनीहरू शुक्रबार बेलुका ९ बजे बेलडाँगी आइपुगेका थिए।
बेलडाँगी शिविरमा बस्ने कुमार सुबेदीका छोरा आशिषसहित सन्तोष दर्जी र रोशन तामाङ बेलडाँगी आइपुगेका हुन्। शिविरस्थित एक शरणार्थी प्रतिनिधिका अनुसार, तामाङले भने आफ्ना मामा पथरी–शनिश्चरे क्याम्पमा रहेकाले त्यता जान चाहेको बताएका छन्। बेलडाँगी शिविरमा उनीहरु आएपछि बढेको भीड र हल्लाका कारण मात्रै स्थानीय सशस्त्र प्रहरीको टोलीले जानकारी पाएको थियो।
यो पनि: अमेरिकामा पक्राउ परेका ४० भन्दाबढी भुटानी शरणार्थीलाई भुटान ‘डिपोर्ट’ गरिएला?
“पारो विमानस्थल उत्रनासाथै हामीलाई स्वागत गरियो, खानपिन गराइयो। अनि हरेकलाई ३० हजार भारु खर्च दिएर जयगाउँसम्म ल्याइएको थियो,” भारतको पानीट्यांकीमा अल्झिरहेका अर्का एक शरणार्थीले अमेरिकामा रहेका आफन्तलाई शुक्रबार साँझ नै भनेका थिए, “भुटानमा तिमीहरूको कोही छैन। तिमीहरूका बाआमा पनि भुटानको नागरिकता त्यागेर बाहिर गएका हुन्। जग्गाजमिन यहाँ केही छैन। अब के गर्छौ त? भनेर सोधिएपछि हामीले नेपाल जान्छौँ भनेका थियौँ।”
त्यसरी सोधपुछ गर्नुअघि नै बाआमा जन्मेको आधारमा मात्रै भुटान आउन दिएको भन्दै पारो विमानस्थलमा अध्यागमन र अन्य अधिकारीले ‘तिमीहरूको भुटान बस्ने ठाउँ र अधिकार नरहेको’ भन्दै तत्कालै देश छाड्न निर्देश गरेका थिए। त्यसो भनेपछि आफूहरूलाई गाडीमा राखेर जयगाउँ (भारतको) सिमाना ल्याएर छाडिएको र मेचीपुलको मुख्य नाकाबाट आउन मुस्किल भएपछि पानीट्यांकी दक्षिणमा रहेको खोरीबारी (बंगाल)को छोटी नाकाबाट नेपाल छिरेको बेलडाँगी आएका शरणार्थीले बताएका छन्। यो नाका प्रचलित गलगलिया (विहार) नजिकै पर्छ। बेलडाँगीस्थित एक शरणार्थी प्रतिनिधिका अनुसार, शिविरमा आइपुगेका तीनै जनालाई इलाका प्रहरी प्रशासन कार्यालय दमकमा आवश्यक सोधपुछ प्रक्रियामा लगिएको छ।
यो पनि: अमेरिकामा पक्राउ परेकामध्ये ४ जना भुटानी शरणार्थीलाई पारो ‘डिपोर्ट’ गरियो
झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले भुटानी शरणार्थीको नेपाल आगमन सम्भावना र गतिविधिबारे शुक्रबार जानकारी भइसकेको भन्दै यसमा विशेष निगरानी राख्न सीमावर्ती नाकाहरूमा सतर्कता अपनाइएको जानकारी दिए। तर, अर्कै उपाय र बाटोबाट नेपाल छिरिसकेका शरणार्थीबारेमा भने जानकारी नभएको उनले बताए।
अधिकारकर्मी सुशील प्याकुर्यालले भुटानले अमेरिका समेतलाई ‘भ्रम’मा राखेर भुटानी शरणार्थी ‘डिपोर्टेसन’मा सहमति जनाएको प्रस्ट भएको भन्दै भुटान–भारतको त्यही पुरानै रवैया र मार्ग प्रशस्त गरेर नेपाल छिरेका शरणार्थीको हकमा नेपाल सरकारले विशेष निगरानी तथा कानूनी उपचारको उपाय अपनाउनुपर्ने बताएका छन्। ‘यो ३० वर्षअघिकै रवैयामा नेपालमा भुटानी शरणार्थी ल्याइरहने र मेरा नागरिक होइनन् भनेर देखाइरहने भुटानी रबैयाको विरोधमा सरकारले दह्रो उपस्थिति देखाउनुपर्ने भएको छ। फेरि पनि उही बाटो र प्रक्रियाबाट शरणार्थी भित्र्याउन थालिएको यो कदममा किन कोही बोलिरहेको छैन, स्थिति अचम्मलाग्दो छ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
