सुदूरपश्चिम प्रदेशका उद्योगमन्त्रीले दिए राजीनामा

मन्त्री लक्ष्मणकिशोर चौधरीले वन मन्त्रालय र आफूसँग जोडेर आर्थिक चलखेल भयो भन्ने श्रव्य सामग्री सार्वजनिक भएको बताउँदै नैतिकताका आधारमा राजीनामा दिएको बताएका छन्।  

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले राजीनामा दिएका छन्। 

मन्त्रालयमा शनिबार बिहान पत्रकार सम्मेलन गरेर उनले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्। गैरकानूनी ढंगले आर्थिक गतिविधिमा संलग्न भएको श्रव्य सामग्री सार्वजनिक भएपछि उनले राजीनामा दिएका हुन्। 

मन्त्री चौधरीले शुक्रबार वन मन्त्रालय र आफूसँग जोडेर आर्थिक चलखेल भयो भन्ने श्रव्य सामग्री सार्वजनिक भएको बताउँदै नैतिकताका आधारमा राजीनामा दिएको बताएका छन्।  “म निर्दोष छु, दोषी भए सजाय भोग्न तयार छु,” पत्रकार सम्मेलनमा उनले भने। उनी नागरिक उन्मुक्ति पार्टीका तर्फबाट मन्त्री भएका थिए। 

मन्त्री चौधरीले दिगो वन व्यवस्थापन सम्बन्धी कार्यविधि बनाउने विषयमा छलफल गरेको श्रव्य सामग्री सार्वजनिक भएको थियो। तर त्यो श्रव्य सामग्री भदौतिरको भएको उनले बताए। सार्वजनिक अडिओमा दिगो वन व्यवस्थापनसम्बन्धी कार्यविधि पारित गर्ने बताएका मन्त्रीले लेनदेनको कुरा गरेको सुनिन्छ।

त्यसमा मुख्यमन्त्रीलाई पनि दिनुपर्ने सुनिएको छ। मन्त्री चौधरीले उक्त कार्यविधि अहिलेसम्म पारित नभएको  पनि पत्रकार सम्मेलनमा बताए।