म्यानमारमा भूकम्पमा मृत्यु हुनेको संख्या १ हजार नाघ्यो, उद्धार तथा खोजी जारी

विमानस्थल तथा सडकहरू बन्द रहेकाले राहत तथा उद्धार सामाग्री पुर्‍याउने काममा समेत समस्या भइरहेको जनाइएको छ। 

म्यानमारको सागिङ सहरमा केन्द्रविन्दु भई म्यानमार र थाइल्यान्डमा शुक्रबार गएको  भूकम्पमा परी मृत्यु हुनेको संख्या एक हजार नाघेको छ। 

मध्य म्यानमारको सागिङ शहरको उत्तरपश्चिममा शुक्रबार ७.७ म्याग्निच्युडको भूकम्प गएको र त्यसको केही मिनेटपछि ६.७ म्याग्निच्युडको पराकम्प आएको थियो। अहिले खोजी तथा उद्धार कार्य जारी रहेको जनाइएको छ ।  

भूकम्पले म्यानमारमा भवन, पुल र सडकका साथै १७ लाखभन्दा बढी मानिसहरूको घरमा क्षति पुगेको छ। कम्तीमा एक हजार दुई जनाको मृत्यु भएको र दुई हजार ४०० जना घाइते भएको सरकारले विज्ञप्तिमा जनाएको छ। उक्त भूकम्पको कारण बैंककमा थप १० जनाको मृत्यु भएको र कम्तीमा १०० जना हराइरहेको पुष्टि भएको छ।

विमानस्थल तथा सडकहरू बन्द रहेकाले राहत तथा उद्धार सामाग्री पुर्‍याउने काममा समेत समस्या भइरहेको जनाइएको छ।