अमेरिकन लेखक मार्क ट्वेनले ‘सत्यले आफ्नो जुत्ता लगाउँदै गर्दा झुटले आधा संसार घुमिसक्छ’ भनेका थिए रे! घृणा र हिंसा पनि त्यस्तै हो।
ज्ञानेन्द्र शाहको उक्साहटमा विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको ‘नायकत्व’मा काठमाडौँको तीनकुनेतिर शुक्रबार नेपाली झन्डाको आवरणमा राजावादीको ढुंगामुडा र 'दबंगिरी' चल्दै गर्दा भृकुटीमण्डपस्थित मुख्य सडकमा समाजवादी मोर्चाले ‘प्रतिगमनविरुद्ध’ जनप्रदर्शन गर्दै थियो। पार्टीका झन्डासहितको उक्त प्रदर्शन अपेक्षा गरेभन्दा शालीन थियो।
राजावादीको बढ्दो ताउरमाउरबाट सशंकित ‘वामे’ प्रदर्शनकारीले बेलाबेला राजतन्त्रविरुद्ध चर्का नारा लगाए, तर तिनले सडकका कुनै बिरुवा उखेलेनन्। कतै छ्यास्स प्रहरीलाई धकेलेनन्। तिनले पक्कै पनि राजावादीका उत्तेजक सामग्री सामाजिक सञ्जालतिर देखेका हुँदा हुन्, उनीहरू पनि उत्तेजित हुने सम्भावना थियो, तर तिनमा संयम देखियो। सुरक्षाकर्मीसँग कोही भिडेनन्। आफ्नो नेतृत्वको पूर्ण नियन्त्रणमा देखियो गणतन्त्रवादीको आन्दोलन।
कुनै बेलाको बदनाम वाईसीएलका कार्यकर्ताले सभा सञ्चालनपश्चात् आफ्ना कारण सडकमा जम्मा भएको फोहोर बटुलेर आफूलाई सभ्य रूपमा चिनाए। महानगरपालिकाको फोहोर जरिबाना नतिरी घरकोठा फिरे गणतन्त्रवादी। यसअघि राजावादी र एमालेको कार्यक्रममा प्रदर्शनकारीले फोहोर गराएको भन्दै बालेन्द्र (बालेन) शाह नेतृत्वको काठमाडौँ महानगरले जरिबाना तिराएको थियो। राप्रपाले जरिबाना हाताहाती तिरे पनि एमालेले भने अहिलेसम्म तिरेको जानकारी प्राप्त भएको छैन।
राजावादीको शुक्रबारको आन्दोलनका कारण भएको (काठमाडौँ महानगरको क्षेत्राधिकार पर्ने) क्षतिपूर्ति भन्दै झन्डै ८ लाख तिराउन ज्ञानेन्द्र शाहलाई काठमाडौँ महानगरले शनिबार पत्र नै काटेको छ।
सरकारी संयन्त्रले गणतन्त्रवादीको प्रदर्शनमा ३५ हजार सहभागी रहेको आकलन गरेको छ भने तीनकुनेको राजावादीको प्रदर्शनमा चार हजार हाराहारी। स्मरणीय के छ भने, ज्ञानेन्द्र शाहको फागुन ७ गतेको वक्तव्यपश्चात् गणतन्त्रवादीले त्यस वक्तव्यलाई ‘प्रतिगामी षड्यन्त्रको सूत्रपात’का रूपमा बुझेका थिए। यद्यपि, शासन गुमेपछिका धेरै वर्षयता ज्ञानेन्द्र शाह आफ्नो स्थान नपाएर कहिले भारतको उत्तर प्रदेशतिर गेरू रङमा राजनीति गर्ने अनेक खालका जोगीसँग कुनै घाटमा नुहाइरहेका भेटिन्थे त कहिले शक्तिपीठ धाइरहेका। र, शुक्रबारको आन्दोलन तिनै ज्ञानेन्द्रको ‘प्रतिगामी षड्यन्त्र’सँगै ‘सरकारको जनविरोधी कदमविरुद्ध’ थियो।
अनेकौँ हिंसात्मक द्वन्द्व, आन्दोलन र क्रान्तिबाट यहाँसम्म आइपुगेका दलको प्रतिक्रियात्मक आन्दोलन शालीन र सभ्य देखिँदा सार्वजनिक जीवनमा सदा सभ्य र शालीन देखिने ज्ञानेन्द्र शाहको निर्देशनमा निस्केको तीनकुनेको प्रदर्शन भने हिंसात्मक भइदियो। प्रदर्शनकारी तोकिएको घेरा तोडेर अघि बढ्न खोज्दा प्रहरीले टियर ग्यास र पानीको फोहरा प्रहार गर्यो। त्यसपछि तीनकुनेमा अराजकता भड्कियो। साउथ इन्डियन फिल्मीशैलीमा दुर्गा प्रसाईं प्रहरीलाई मिच्दै बीच सडकतिर पिकअप हुइँक्याउँदै गरेका देखिए।
आफूलाई धर्मगुरु बताउने श्रीनिवासचार्य र पुष्कर खतिवडा छाडा बोल्दै प्रहरीलाई ढुंगा हान्न थाले। स्मरणीय छ, २०७४ सालमा धार्मिक हिंसा भड्काउने उद्देश्यले आफैलाई गोली हान्न मात्र लगाएनन्, अरूलाई दोषी करार गर्ने उद्देश्यले ‘मंगोल सेना’को पर्चासमेत फ्याँक्न लगाए। सोही कारण उतिखेर हिन्दू–गुरुमाथि गोली हानिएको भन्दै धेरै हिन्दू धर्मावलम्बी उद्वेलित भएका थिए। सोही प्रकरणमा हातहतियार तथा खरखजाना मुद्दामा उनी केही समय जेल परे। अघिल्लो साल जनकपुरमा हातमा नांगो खुकुरी लिएर हिन्दूको विरोध गर्ने र गौहत्या गर्नेलाई काट्न उक्साएका समेत थिए यिनले। पुष्कर खतिवडा पनि टिकटकतिर धर्मको विषयमा उग्र बोलिरहेका भेटिन्छन्। उसै पनि भारतीय खुला सीमाको सहुलियत पाउने भाग्यमानी नेपाली हामी, दक्षिणतिरका उत्तेजनापूर्ण धार्मिक सामग्रीको अल्गोरिदम् पनि नेपालीका मोबाइलमा सहजै आइपुग्छ।
त्यसमाथि, सन् २०१४ मा धार्मिक दंगाकै मसला बेचेर मोदी सत्तामा उदाएयता, गेरुवा लुगा लगाएकाहरूको वारिपारि आउजाउ बाक्लो छ। तिनकै सम्पर्क र संसर्गका कारण श्रीनिवास मार्काका उत्तेजकहरूको तुजुक बढेको छ। घृणा र उत्तेजनाकै कारण सर्लाहीको सदरमुकाम मलंगवामा अघिल्लो साल भदौ २० गते र असोज ४ गते तथा नेपालगन्जमा असोज १६ गते मुसलमानविरोधी हिंसा भएको थियो। भारतको राष्ट्रिय स्वयंसेवक संघसँग नेपालका अतिवादीहरू मिलेर त्यो दुष्कर्म गरेका थिए।
बेलाबेला भारतीय हिन्दू अतिवादीले तराईमा यस खालका दंगाफसाद गराउने प्रयत्न गर्नेगरेका छन्। र, राजा ज्ञानेन्द्र र भारत, उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको तस्वीरसँगै श्रीगणेश भएको राजावादीको यस चरणको आन्दोलनको दोस्रो महत्त्वपूर्ण दिन आन्दोलन नभई अपराध भए। २० वर्षअघि इराकमा अल सुन्ना नामक मुस्लिम आतंकवादी संगठनले नेपालीको हत्यापछि म्यानपावर एजेन्सीलाई ताकेर यस्तै खालका प्रदर्शन र आगजनी भएका थिए। गृह मन्त्रालयका सहसचिव छवि रिजालले २०६१ भदौ १६ को सोही घटना सम्झाउने गरी शुक्रबारको प्रदर्शन भएको बताए।
केही नाफा कमाइरहेको देशको जडीबुटी कम्पनी भस्म पारियो भने भिडिओ खिच्दै, रमाइरमाई राजावादीले व्यक्तिका घर जलाए। घरमै डढेर एक पत्रकारको ज्यान गयो। झन्डै दर्जनभन्दा बढी गाडी जलाइए। व्यवसायमा लुटपाट भयो। राजनीतिक दलका कार्यालय मात्र होइन सञ्चारगृहका कार्यालयमा समेत तोडफोड गरियो, आगो झोसियो।
स्मरणीय छ, गत साउनमा बांग्लादेशमा सेख हसिना सत्ताविरुद्ध जनताले विद्रोह गरेका थिए। 'देश निर्माता' भएकै कारण शेख मुजीबुर रहमान र उनका सन्तानलाई आजीवन राज्यले लाभ (आरक्षण) दिने प्रावधानविरुद्ध गरेको प्रदर्शन र जनविजय थियो त्यो। यद्यपि, शेख हसिना भागेपछि प्रदर्शनकारीले सरकारी कार्यालय लुटेको विषय कतैबाट पनि अनुकरणीय थिएन, तर जनपक्षीय र प्रगतिशील विद्रोह थियो त्यो।
त्यस्तै, सन् २०२२ मा श्रीलंकामा आर्थिक संकट चरममा पुगेर प्रदर्शन हुन थालेपछि त्यहाँका राष्ट्रपति देश छाडेर सिंगापुर गई त्यहाँबाटै राजीनामा दिएका थिए। प्रधानमन्त्री पनि केही समय सेनाको संरक्षणमा बस्न बाध्य भएका थिए। पछि राष्ट्रपति देश फर्किइसकेका छन् भने राजनीतिक नेतृत्व पनि परिवर्तन भइसकेको छ।
दुई देशको राजनीतिक असन्तुष्टिलाई टपक्कै टिपेर त्यसमा रोटी सेक्न खोजिरहेका थिए राजावादी। असन्तुष्ट युवामाझ यो कथन धेरै चर्चित थियो, 'देश अब बांग्लादेश र श्रीलंका हुन्छ।' बांग्लादेशमा प्रदर्शनकारीले राष्ट्रपति भवनका कुर्सी र फ्यान लुटेर हिँडेकै सिको गर्दै राजावादीले तमाम कर्म एकै दिनमा सम्पन्न गरिसके। तोडफोड र लुटपाटको महिमा मण्डन गर्दै गर्दै 'लौ हेर्नुस्, नेताहरूकै कारण देश बांग्लादेश र श्रीलंका बन्ने बाटोमा' भन्दै लाइभ गरे।
शुक्रबारे प्रदर्शनका आयाम अनेक थिए र छन् तर मूलमा छ घृणाको महिमा मण्डन। दिक्क जनता आक्रोशित हुनु स्वाभाविक हो, तर राम्रो 'भ्युज' भएका, सामाजिक सञ्जालका कतिपय 'इन्फ्लुएन्सर' नै सर्वसाधारणलाई 'प्रोभोक' गरिरहेका देखिन्थे/छन्। त्यसले फ्युलिङ गर्यो शुक्रवारे अपराधलाई।
र, पपुलिजम् (लोकरिझ्याइँवाद) घृणा टेकेरै उभिन्छ र कुद्छ। राष्ट्रवाद होस् या जातिवाद, त्यो घृणाकै घर हो। ६० लाख निर्दोष जनका हत्यारा हिटलर यहुदीको घृणामा उदाए। नरेन्द्र मोदी अल्पसंख्यकविरोधी र पाकिस्तानविरोधी धार्मिक राष्ट्रवादमा उदाए। अमेरिकामा अल्पसंख्यक आप्रवासीको द्वेषमा डोनाल्ड ट्रम्प उदाए। नेपालका केपी शर्मा ओली पनि राष्ट्रवादकै जगमा उदाए। व्यवस्थाले राम्रोसँग प्रदर्शन गर्न नसक्नुसँगै, रवि लामिछानेहरू पनि प्रमुख दल र तिनका नेताको घृणामा उदाए। कतिसम्म भने जनआक्रोशमै उदाएका 'लकी राजनीतिज्ञ' बालेन्द्र शाह पनि घृणाकै राजनीति गरिराखेका छन्। सिंहदरबार जलाउने र टुकुचामा गाडिदिने तिनको धम्की दुई दृष्टान्त हो।
हाम्रो अहिलेको राजनीतिको मुख्य मसला नै घृणा हो, त्यही हो हाम्रो राजनीतिको दुःख। जति चिच्याएर अरूलाई दुत्कार्न सकियो, उति प्यारो नेता। उति धेरै भ्युज, उति धेरै स्क्रिनसट। उति नै लब् रियाक्ट, शेयर र ताली। घृणाबाट उदाएकाहरू सबै मसिहा–'फ्युरर'। फ्युररको अर्थ अगुवा वा नेता भए पनि यो उपाधि हिटलरको तानासाही शासनको प्रतीक थियो, जहाँ उनी एकल नेताको रूपमा शासन गर्थे र कुनै पनि लोकतान्त्रिक वा संवैधानिक नियन्त्रणको पालन गर्दैनथे। हाम्रामा पनि कतिपय रैतीहरू सबै खालका समस्याबाट मुक्ति दिने त्यस्तै फ्युररको खोजीमा छन्, तर फ्युररबाट मुक्ति असम्भव छ।
अमेरिकन लेखक मार्क ट्वेनले ‘सत्यले आफ्नो जुत्ता लगाउँदै गर्दा झूटले आधा संसार घुमिसक्छ’ भनेका थिए रे! घृणा र हिंसा पनि त्यस्तै एक जोडी हुन्। सद्वचन र सद्भाव फैलाउन र हुर्काउन धेरै कष्टकर हुन्छ, घृणा र अफवाह सहजै फैलन्छ। यसै कारण पनि राज्यले छिटै सुन्छ भन्ने ठानेर कतिपयले हिंसाको सहारा लिन्छन्। यद्यपि, राज्य क्रूर र तानाशाही हुँदा बृहत् सामाजिक न्याय र अग्रगमनका लागि हुने कतिपय राजनीतिक हिंसालाई नकार्न सकिँदैन। शुक्रबारको प्रकरण बिलकुलै त्यो होइन। कुनै राजावादीले समेत त्यस हिंसालाई बोक्ने नैतिकता नराखेबाटै त्यो बुझिन्छ पनि। सम्भवतः घृणा र उत्तेजनाले सुकेर सुख्खा भएका युवाले शुक्रबा काठमाडौँमा लुटपाट, हिंसा र आगजनी मच्चाए। त्यस्तो घृणा दक्षिणबाट सल्केको होस् या यतैका इन्फ्लुएन्सरबाट, त्यसबाट नयाँ पुस्ता बच्नु आवश्यक छ।
यता ३५ हजारको शान्त-सभा चलिरहँदा, त्यसबारे थोरै मात्र हल्लाखल्ला भइरहँदा उता चारै हजारको उपद्रोले बनाएको देशभित्र र बाहिरका समाचार हेडलाइन नै हेरौँ न। घृणाको 'शक्ति' हो यो।
तर देशलाई साँच्चै माया गर्नेहरूले यतिखेर फ्याँक्नुपर्ने पनि घृणा नै हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
