तीनकुने घटनाको सम्पूर्ण जिम्मेवारी पूर्वराजाले लिनुपर्ने कांग्रेसको निष्कर्ष

सत्ता साझेदार दल नेपाली कांग्रेसले तीनकुने क्षेत्रमा शुक्रबार भएको घटनाको सम्पूर्ण जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने निष्कर्ष निकालेको छ। 

काठमाडौँ– सत्ता साझेदार दल नेपाली कांग्रेसले तीनकुने क्षेत्रमा शुक्रबार भएको घटनाको सम्पूर्ण जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने निष्कर्ष निकालेको छ। 

कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा शनिबार साँझ बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले शुक्रबारको राजावादीको प्रदर्शनको समीक्षा गर्दै त्यसको सम्पूर्ण जिम्मेवारी पूर्वराजा शाहले लिनुपर्ने निष्कर्ष निकालेको हो।

बैठकमा गृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकले शुक्रबार तीनकुने क्षेत्रमा राजावादी प्रदर्शनकारीबाट उत्पन्न परिस्थितिबारे ब्रिफिङ गरेका थिए। राजसंस्था पुनर्स्थापना पक्षधरले देशलाई निरंकुश शासनतर्फ लाने मनसायसाथ शुक्रबार अराजक गतिविधि गरेको कांग्रेसको भनाइ छ। 

“ठूलो मात्रामा निजी र सार्वजनिक सम्पत्तिको क्षति भएको छ। दुई जना व्यक्तिहरूको मृत्यु भएको छ। अन्य कैयन घाइते भएका छन्,” बैठकपछि पार्टी प्रवक्ता प्रकाशशरण महतले भने, “यसको सम्पूर्ण जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्छ।”

उनले पूर्वराजा शाहको आयोजनमा समिति गठन भएर प्रदर्शन सञ्चालन गरिएकाले उनलाई जिम्मेवार ठहर्‍याउनुपर्ने कांग्रेसको निष्कर्ष रहेको उनले बताए। 

शान्तिपूर्ण रूपमा प्रस्तुत हुने बताए पनि त्यसको विपरीत तोडफोड, आगजनी गरेर असुरक्षा तथा अराजकताको परिस्थिति निर्माण गर्ने र त्यो परिस्थितिबाट फाइदा उठाउँदै सत्ता कब्जा गर्ने मनसाय राजावादीको रहेको उनले बताए।

शुक्रबारको घटनामा संलग्न भई अराजक गतिविधि गर्ने र धनजनमा क्षति पुर्‍याउनेलाई कानूनबमोजिम कारबाही हुनुपर्ने पनि कांग्रेसको निष्कर्ष छ।

साथै, कांग्रेसले संविधान पक्षधर दलहरूका शीर्ष नेतासँग सर्वदलीय बैठक बलाउन अन्य दलसमक्ष प्रस्ताव राख्नेबारे पनि बैठकमा छलफल भएको उनले बताए।