जरुरी छैन भने ८ वर्ष पनि प्रधानमन्त्री भारत भ्रमणमा नगए हुन्छ: पूर्वपरराष्ट्रसचिव डा.भट्टराई (भिडिओसहित)
‘हामीले राजनीति वा सरकार परिवर्तनकै नाममा पछिल्ला १२ वर्षको अवधिमा २० जना परराष्ट्रमन्त्री बनाएका रहेछौँ। त्यस्तै हतारोमा पहिले राजदूत नियुक्त गरेपछि मात्रै राजदूतावास खोलेका रहेछौँ।’
काठमाडौँ– कूटनीतिज्ञ डा. मदनकुमार भट्टराईले राज्य पद्धतिमा ‘स्थायी प्रशासन’ मानिने परराष्ट्र सेवालाई पनि राजनीतिक अस्थिरताको नाममा जोडेर सधैँ संक्रमणकालमा राखिएको बताएका छन्।
“हामीले राजनीति वा सरकार परिवर्तनकै नाममा पछिल्ला १२ वर्षको अवधिमा २० जना परराष्ट्रमन्त्री बनाएका रहेछौँ। त्यस्तै हतारोमा पहिले राजदूत नियुक्त गरेपछि मात्रै राजदूतावास खोलेका रहेछौँ। राजदूतलाई पनि कहिल्यै पूर्ण कार्यकालमा काम गर्न दिएकै रहेनछौँ,” ३७ वर्षको कूटनीतिक सेवा क्रममा परराष्ट्र सचिवदेखि दोहोरिँदै राजदूत बनेका डा. भट्टराईले उकालोसँगको संवादमा भने, “यहाँ आफूले गर्न नसकेको काम वा असफलता र अकर्मण्यतालाई ढाकछोप गर्न ‘संक्रमणकालीन अवस्था’लाई दोष दिइने प्रवृत्ति बढीजसो छ। त्यही संक्रमणको मारमा नेपालको परराष्ट्र सेवा परेको छ।”
कूटनीतिक सेवा प्रवाह गर्ने कुरामा बढीजसो भारतसहितका बाहिरी प्रभावशाली मुलुकहरू राजनीतिकभन्दा बढी ‘करियर’ पक्षधर हुँदै गएको दृष्टान्त दिँदै डा. भट्टराईले राजदूत नियुक्तिका क्रममा गोजीबाट टिपेर राजदूत बनाउने र यो पदलाई जागिरको तहमा मात्रै सीमित राख्ने प्रवृत्ति चिन्ताजनक रूपमा बढेको उनले बताए।
“त्यसो भन्दैमा राजनीतिक नियुक्ति बन्द गरिनुपर्छ भनेको होइन। तर, राजनेताहरूले पनि आफ्नो दल वा विचारमा उभिएकामध्ये सबैभन्दा योग्यलाई राजदूत नियुक्त गरिदिएमा बेस हुने थियो भन्न चाहेको हुँ,” उनले भने।

डा. भट्टराईले कूटनीतिक तहमा हुने भ्रमण र डेलिगेसन (संख्या/वरीयता)ले पनि देशहरूबीच सम्बन्धको आयाम तय गर्न सक्ने बताउँदै म्युजिकल–चेयरको शैलीमा बदलिरहने सरकारले हरेक हेराफेरिलगत्तै छिमेकको भ्रमणमा जानैपर्ने ‘अनिवार्य प्रबन्ध’ कहीँ नरहेको बताए।
“नेतृत्व बदल्नासाथ (भारत वा चीन) भ्रमणमा जानैपर्छ भन्ने किन जरुरी छ? मेरो पहिलो आधारभूत सरोकार हो यो,” उनी भन्छन्, “हामी त्यो देशमा नगएको होइन, त्यहाँबारे थाहा नपाएको होइन, अथवा त्यो देशको नेतृत्वसँग यसअघि कुरा नगरेको होइन। भारतको हकमा अहिले नेपालमा सरकार बनेको आठ महिनासम्म पनि भारतबाट भ्रमणको निम्तो आएन भन्ने हल्ला गरिन्छ। आठ महिना किन? काम परेन, जरुरी रहेन भने आठ वर्षसम्म नगए पनि हुन्छ नि।”
तर यसो भन्दैमा वर्षौंदेखि बस्न नसकिरहेका उच्चस्तरीय संयन्त्रका बैठकहरू, सीमावर्ती मुद्दा र ईपीजी प्रतिवेदनको अन्योल जस्ता सरोकार सम्बोधन गर्न हुनैपर्ने निरन्तरका संवादसमेत रोकिनु भने चिन्ताजनक विषय रहेको उनी बताउँछन्।
आफ्नो कूटनीतिक सेवा र अनुभवबारे लेखनमा सक्रिय रहेका डा. भट्टराईले हालै प्रकाशन गरेको ‘नेपालको परराष्ट्र सम्बन्ध: संक्रमणकाल र प्रो नरेन्द्रमणि दीक्षित’का सन्दर्भमा कुराकानी गर्दै राणातन्त्रबाट प्रजातन्त्रमा आएको शासकीय प्रणाली, निजी प्रशासनिक सेवाको उतारचढाव र विश्वमै देखिएको शीतयुद्धकालीन संक्रमणलाई संयोग बनाएर पुस्तक लेखेको बताए।
यसअघि, उनले ‘परराष्ट्रका पात्र’, ‘परराष्ट्रका प्रशासक’, ‘चार कूटनीतिज्ञ’ सहितका पुस्तक प्रकाशन गरेका थिए। डा. भट्टराईले अबको चरणमा नेपालको कूटनीतिक सेवाका अब्बल पात्रहरू सरदार यदुनाथ खनाल र नरप्रताप शमशेर थापाको कृति–व्यक्ति जोडेर अलग पुस्तक लेखनको काम गरिरहेको जानकारी दिए।
भिडिओ
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
