जनकपुरधाममा स्थानीय र प्रहरीबीच झडप

जनकपुरधाम उपमहानगर– २३ बिन्धीमा आंसु यादवको हत्यामा संलग्नलाई कानूनी कारबाहीको दायरामा ल्याउन माग गर्दै अवरुद्ध पारिएको सडक खुलाउन पुगेका प्रहरी र स्थानीयबीच झडप भएको छ।

जनकपुर– धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धीमा प्रहरी र स्थानीयबीच झडप भएको छ।

आंसु यादवको हत्यामा संलग्नलाई कानूनी कारबाहीको दायरामा ल्याउन माग गर्दै बिन्धीवासीले आइतबार बिहानदेखि सडक अवरुद्ध पारेका थिए। सडक खुलाउने क्रममा प्रहरीले बल प्रयोग गरेपछि स्थानीय प्रतिरोधमा उत्रिँदा झडप भएको हो।  

स्थानीय आक्रोशित हुँदै प्रहरीमाथि ढुंगामुढासमेत गरेपछि स्थितिलाई नियन्त्रणमा लिने प्रहरीले टियर ग्यास प्रहार गरेको छ। सो क्रममा दर्जनौँ स्थानीय र प्रहरी घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाले घाइतेको यकिन हुन बाँकी रहेको जनाएको छ। अहिले घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति छ।

चैत्र २ गते साँझ ५ बजे होली खेल्ने क्रममा छुरा प्रहारबाट आंसुको मृत्यु भएको थियो। होली खेल्ने क्रममा विवाद हुँदा स्थानीय धर्मेन्द्र महतोले आंसुमाथि छुरा प्रहारको आरोप छ। 

छाती, ढाड र पेटमा छुरा प्रहारबाट गम्भीर घाइते आंसुको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा शनिबार साँझ करिब ६ बजे मृत्यु भएको थियो।

प्रहरीले तत्कालै छुरासहित धर्मेन्द्रलाई पक्राउ गरेको थियो। तर आंसुका परिवारजनले अन्य व्यक्तिको संलग्नता रहेको भन्दै उनीहरूलाई पनि पक्राउ गर्नुपर्ने माग गरिरहेका छन्।