नेप्से परिसूचकमा २९ अंकको वृद्धि, साढे ७ अर्बको शेयर कारोबार

आइतबार नेप्से परिसूचक २९.८२ अंकले बढेर २६९३.१२ को बिन्दुमा कायम भएको छ।

काठमाडौँ– साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेन्जमा १.११ प्रतिशतको वृद्धि देखिएको छ। आइतबार नेप्से परिसूचक २९.८२ अंकले बढेर २६९३.१२ को बिन्दुमा कायम भएको हो। 

यस दिन ३२३ कम्पनीको एक करोड ५५ लाख ७२ हजार ८६२ कित्ता शेयर ७६ हजार ३५४ पटक खरिदबिक्री भयो। जसबाट सात अर्ब ५६ करोड ८२ लाख २६ हजार १९७ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

म्युचुअल फन्ड समूहको उपसूचक ०.१५ र व्यापार समूह ०.२६ प्रतिशतले घटेको छ। अरू सबै समूहको उपसूचक बढेको छ। यस दिनको कारोबारमा वित्त समूह २.०१, लगानी २.१८ र अन्य समूह २.०८ प्रतिशतले बढेको छ।

बैंकिङ र वित्त समान ०.८२, होटल तथा पर्यटन १.४१, जलविद्युत् १.५४, जीवन बिमा ०.८५, उत्पादन तथा प्रशोधन ०.५८, लघुवित्त ०.६२ र निर्जीवन बिमा ०.७८ प्रतिशतले बढेको छ।

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी ९.९७ प्रतिशतले बढेको छ। सबैभन्दा बढी घट्नेमा प्रभु स्मार्ट फन्डको शेयर मूल्य ५.७९ प्रतिशत रहेको छ।

कारोबार रकमका आधारमा यस दिन सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्सको ६९ करोड १९ लाख ७७ हजार ४११ रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा सबैभन्दा बढी नेपाल इन्भेस्टमेन्ट मेगा बैंक प्रमोटर शेयर आठ लाख ५० हजार ८०९ कित्ता किनबेच भएको छ।