तीनकुने घटना : रवीन्द्र मिश्र, धवलशमशेरलगायतलाई ५ दिन थुनामा राख्न अदालतको अनुमति

तीनकुने घटनामा पक्राउ परेका राप्रपाका नेताद्वय धवलशमशेर राणा, रवीन्द्र मिश्रलगायतलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ।

काठमाडौँ– तीनकुने घटनामा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताद्वय धवलशमशेर राणा, रवीन्द्र मिश्रसहितका व्यक्तिलाई पाँच दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ। 

शुक्रबार काठमाडौँको तीनकुनेमा भएको राजावादी प्रदर्शनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटका घटनामा जिम्मेवार रहेको भन्दै प्रहरीले उनीहरूलाई पक्राउ गर‍ेको थियो। आइतबार काठमाडौँ जिल्ला अदालतले उनीहरूमाथि अनुसन्धानका लागि प्रहरीलाई पाँच दिनको म्याद दिएको हो।

उनीहरूमाथि राज्यविरुद्धको अपराध लगायतका कसुरमा अनुसन्धान गर्न अदालतले अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, एसपी अपिलराज बोहराले जानकारी दिए।

शुक्रबार काठमाडौँको तीनकुने क्षेत्रमा राजसंस्थाको समर्थनमा भएको प्रदर्शन हिंसात्मक बनेको थियो। प्रदर्शनका क्रममा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको थियो भने निजी तथा सार्वजनिक सम्पत्तिमा तोडफोडका साथै आगजनी भएको थियो। त्यसपछि प्रहरीले तीनकुने क्षेत्रमा तोडफोड, आगजनी तथा लुटपाटमा संलग्न र घटनाका लागि उक्साउने व्यक्तिलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको थियो।