संसदमा प्रधानमन्त्रीको सम्बोधनः चैत १५ को घटनामा पूर्वराजाले उन्मुक्ति पाउनुहुन्न

प्रधानमन्त्री ओलीले चैत १५ को आन्दोलनको प्रमुख व्यक्ति भएको हैसियतले राजाले यस विषयमा सार्वजनिक धारणा राख्नुपर्ने पनि बताएका छन्।

काठमाडाैँ–  प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १५ को घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहले उन्मुक्ति पाउन नहुने बताएका छन्।

सोमबार बिहान सवा ११ बजे बैठक शुरू भएसँगै सभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले मान्छेको ज्यान जाने गरी भएको आपराधिक घटनामा कसैले पनि उन्मुक्ति पाउन नहुने बताएका हुन्। साथै, उनले उक्त आन्दोलनको प्रमुख व्यक्ति भएको हैसियतले राजाले यस विषयमा सार्वजनिक धारणा राख्नुपर्दैन भन्दै प्रश्न गरे।

उनले भने, "यसमा पूर्व राजाले पनि उन्मुक्ति पाउनुहुन्न, यी सबै शृंखलाबद्ध घटनामा आफ्नो धारणा सार्वजनिक गर्नुपर्दैन?" साथै उनले राजालाई इतिहासले कुनामा फ्याकेका व्यक्ति भन्दै घटनाको मूल जिम्मेवार भएको बताए।

त्यस्तै, उनले त्यतिखेर ज्ञानेन्द्रले नागरिकको हैसियतमा शान्त जीवन बिताउने, नागरिकको कानूनी र संवैधानिक अधिकार प्रयोग गरी व्यापार व्यवसाय सञ्चालन गर्ने, पूर्व राष्ट्रप्रमुखको हैसियतमा सरकारले सुरक्षाको प्रबन्ध गर्ने विषयमा सहमति जनाएको भए पनि अहिले सम्झौता उल्लङ्घन गरेको बताए। 

केही दिनयता संसद अवरुद्ध भएको विषयमा पनि बोल्दै प्रधानमन्त्री ओलीले आफ्नो धारणा राखे। कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक पदबाट बर्खास्त गरिएपछि विपक्षी दलहरूले संसद अवरुद्ध गर्दै आएका थिए। त्यसको जवाफ दिँदै प्रधानमन्त्री ओलीले त्यसको लागि प्रक्रिया भएको अवगत गराए।

सुशासनका विषयमा प्रश्न उठ्न जायज भए पनि एक जना कर्मचारी फेरबदल हुँदा संसद अवरुद्ध हुने अवस्थाप्रति उनले आपत्ति जनाउँदै राष्ट्रसेवक कर्मचारीको गुणदोषबारे टिप्पणी गर्ने स्थल संसद नभएको उल्लेख गरे।

"मन्त्रीप्रति लोयल्टी नभएको कर्मचारीसँग मन्त्रीले सहकार्य गर्न सहज मानेन भने हट्छ, यो स्वाभाविक प्रक्रिया हो, देशका महत्त्वपूर्ण विषयमा छलफल गरेर निर्णय गरेर अघि बढ्नुपर्ने समयमा एउटा सामान्य कर्मचारीको विषयमा संसद् अल्झनु हुन्न," उनले भने। साथै उनले अहिले यस विषय अदालतमा विचाराधीन रहेको बताए । यसमा थप चर्चा, परिचर्चा बहस गर्न आवश्यक नरहेको बताए ।