कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटाका मानबहादुर धानुक सम्पर्कविहीन भएको २८ वर्षपछि घर फर्किएका छन्।
कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटाका ६२ वर्षीय मानबहादुर धानुक अटोबाट झरेर टुप्लुक्क घरको आँगनमा आइपुग्दा एकैछिन घरमा सन्नाटा छायो। सम्पर्कविहीन भएको २८ वर्षपछि धानुक घर फर्किएलान् भन्ने अनुमान परिवारका कुनै सदस्यले गरेका थिएनन्।
त्यसो त धानुकलाई पनि शुरूमा आफ्नो घर पत्ता लगाउन कठिन भयो। आफूले घर छोड्दाको बस्ती शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको विस्तारित क्षेत्रभित्र परेपछि स्थानान्तरण गरिएको थियो। भारतको उत्तर प्रदेशको बनारसबाट बस चढेर महेन्द्रनगर आइपुगेका उनी सबैभन्दा पहिले कपडालगायत सामान खरिद गर्ने पुरानो व्यापारीकहाँ पुगे। उनीसँग कुरा गरेपछि थाहा भयो कि साबिकको पिपलाडी गाविस–१ को तारापुर बस्ती स्थानान्तरण गरिएको रहेछ।
त्यसपछि उनी महेन्द्रनगर बजार हुँदै झलारी बजार झरे। चिनजानका व्यक्तिसँगको भेटमा तारापुर बस्तीलाई सिमलफाँटामा सारिएको जानकारी पाए। चिनजानकै व्यक्तिले अटो चालकलाई सिमलफाँटाको घरसम्म पुर्याइ दिन आग्रह गरे। अटो चालकले धानुकलाई घरमै पुर्याइदियो। यो शनिबारको कुरा हो।
धानुक यत्तिका वर्षपछि घर फर्किनुमा भने उनको एक धर्मआमाको भूमिका छ, जो ६५ वर्षीया वृद्धा छन्। भारतकै बनारस बस्ने उनै धर्मआमा र उनकी १३ वर्षीया नातिनी पनि धानुकसँगै आएका छन्।
धानुकले भने, “छोराछोरी सानै हुँदा हिँडेकाले मैले चिन्ने कुरै भएन, आमा र श्रीमतीले चिने, धेरै वर्षपछि घर आइपुगेकाले परिवारका सदस्यले हर्षका आँसु बगाउन थाले, खुशी भए, मैले धेरै वर्ष सम्पर्कविहीन भएर बिताएकाले परिवार पाउँदा निकै खुशी छु।”
घरबाट विसं २०५३ मा कमाइको खोजीमा भारतको राजीस्थानस्थित जयपुर पुगेका उनको गतिलो कमाइ थिएन। काम गर्दा थोरै कमाइ हुन्थ्यो खान र लुगाफाटोमै सिद्धिन्थ्यो।
“कामकै खोजीमा कहिले यता पुग्थेँ, कहिले उता”, विगत सम्झँदै उनले भने, “घरसम्म पुग्ने बस भाडा हुँदैनथ्यो, घर जान पाए हुन्थ्यो भनेर सोच्थेँ, जान सक्ने अवस्था थिएन, बिस्तारै घरको ठेगाना नै बिर्सिने अवस्थामा पुगेको थिएँ।”
उनका अनुसार राजीस्थानको जयपुरमा एक व्यक्तिसँग गहिरो मित्रता भयो। ती मित्रको ससुराली उत्तर प्रदेशको बनारसमा थियो। त्यहाँ दुवै जनाको आउजाउ थियो। ती मित्र बिरामी भएपछि धानुकले रगत दिएर ज्यान बचाए। त्यसै बेलादेखि ती मित्रको सासूले धानुकलाई धर्मपुत्रका रूपमा मान्न थालिन्।
ती वृद्धाका छोरा थिएन, उनले जमिन दिन्छु बस्नु भनेर पनि धानुकलाई अनुरोध गरिन्। “सित्तैमा लिएमा पाप लाग्छ भनेर जग्गा लिन अस्वीकार गरेँ”, उनले भने, “तिनै वृद्धा आमाले परिवारसँग भेट्नुपर्छ भनेर कर गर्नु भएपछि उहाँसँगै घर आइपुगेँ, यत्तिका समयपछि परिवारसँग भेट हुन्छ भनेर सोचेकै थिइनँ। परिवारलाई भेट्न पाउँदा निकै खुशी छु, अब भारत फर्किन्न।”
धानुकका छोरा गणेशबहादुर ३३ वर्षका छन्। यो उमेरमा बुवा पाउँदा खुशीको सीमा नै नरहेको उनी बताउँछन्। “सानै छँदा बुवाले छाडेर जानुभएको थियो”, उनले भने, “अहिले आएर बुवालाई भेटाएँ, परिवारमा खुशियाली छ।”
धेरै वर्षपछि घर आइपुगेका धानुकलाई भेट्न आफन्त र छिमेकी आउने क्रम बढेको छ। स्थानीय समाजसेवी भरतबहादुर विष्ट धानुकलाई घरसम्म ल्याउन उनकी धर्म आमाको महत्त्वपूर्ण भूमिका रहेको बताउँछन्। उनले भने, “उहाँको धर्मआमाको कार्य सह्रानीय छ, मानबहादुर धेरै लामो समयपछि घर आइपुग्दा हामी गाउँले खुशी छौँ।” धानुकको दुई छोरा, एक छोरी, श्रीमती, आमा, भाइ र भतिजा छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
