त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका जोशी निर्वाचित

त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका दीपकराज जोशी विजयी भएका छन्।

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघका दीपकराज जोशी विजयी भएका छन्।

सोमबार सम्पन्न निर्वाचनमा उनले कुल खसेको तीन हजार १०८ मतमध्ये ७८९ मत प्राप्त गरे। उनका निकटतम् प्रतिद्वन्द्वी अनेरास्ववियुका सिद्धान्त भट्टले ७८१ मत प्राप्त गरे।

नेकपा माओवादीनिकट अखिल क्रान्तिकारीका प्रविण दाहालले ७२७ प्राप्त गरे भने स्वतन्त्र उम्मेदवार उज्ज्वल खड्काले ५१५ मत प्राप्त गरे।

सभापतिबाहेक अन्य पदमा भने अनेरास्ववियुका उम्मेदवार विजयी भएका छन्। सचिवमा अनेरास्ववियुका हिक्मतकुमार बुढा र कोषाध्यक्षमा सञ्चमाया सुब्बा निर्वाचित भएका छन्।