सिस्नेरी खोलामा डुबेर ३ बालकको मृत्यु

मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३ स्थित सिस्नेरी खोलामा डुबेर सोमबार तीन बालकको मृत्यु भएको छ।

बागमती- मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३ स्थित सिस्नेरी खोलामा डुबेर सोमबार तीन बालकको मृत्यु भएको छ।

खोलामा नुहाउने क्रममा डुबेर सिस्नेरी डोडारेका श्यामबहादुर आचार्यका १४ वर्षीय छोरा सुशान्त आचार्य, काभ्रेको फूलबारी दाप्चा घर भई सिस्नेरीस्थित मामा घर आएका १४ वर्षीय प्रमेश घोरासैनी र ११ वर्षीय प्रमाध घोरासैनीको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक ललिता ढकालले जानकारी दिइन्। मृतक घोरासैनी दुवै दाजु भाइ हुन् भने आचार्य मामाका छोरा हुन्।

सिस्नेरी बजार पछाडि रहेको खोलामा नुहाउन गएका तीनै जना पौडी खेल्ने क्रममा डुबेका थिए। तीनै जनाको अचेत अवस्थामा उद्धार गरी उपचारका लागि पाटन अस्पताल पठाइएकामा उपचारकै क्रममा मृत्यु भएको प्रहरी निरीक्षक ढकालले बताए। मृतक बालकको शव परीक्षणका लागि पाटन अस्पतालमा राखिएको छ।