प्रतिनिधिसभा सदस्य दीपक बोहराको निधन

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेतासमेत रहेका बोहराको उपचारका क्रममा काठमाडौँको ओम अस्पतालमा मंगलबार निधन भएको हो।

काठमाडौँ– प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री दीपक बोहराको निधन भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेतासमेत रहेका बोहराको उपचारको क्रममा काठमाडौँको ओम अस्पतालमा मंगलबार निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। 

बोहरा गत निर्वाचनमा रुपन्देही–१ बाट निर्वाचित भएका थिए। बोहराको शवलाई रुपन्देही लैजाने तयारी भइरहेको प्रवक्ता श्रेष्ठले बताए।

बोहरा पुराना राजनीतिज्ञ हुन्। २०३६ सालमा पहिलो पटक रुपन्देहीबाट राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएर उनको राजनीतिक यात्रा शुरू भएको थियो। 

पञ्चायतकालमा विभिन्न समयमा मन्त्री भएका उनी बहुदलीय व्यवस्थापछिका हरेक निर्वाचनमा प्रतिस्पर्धा गर्दै आए पनि २०७० र २०७९ मा दुई पटक निर्वाचित भएका थिए। उनी २०६६ सालमा वन तथा वातावरणमन्त्री र २०७२ मा श्रम तथा रोजगारमन्त्री भएका थिए।