प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य

मंगलबारको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको चालु अधिवेशन राति १२ बजेबाट अन्त्य हुने जानकारी गराएसँगै बैठक स्थगित गरेका थिए।

काठमाडौँ– प्रतिनिधिसभाको चालु हिउँदे अधिवेशन अन्त्य भएको छ। मंगलबारको बैठकमा सभामुख देवराज घिमिरेले चालु अधिवेशन आज राति १२ बजेबाट अन्त्य हुने जानकारी सभासमक्ष गराएका हुन्।

बैठकले राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक बोहराको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ। त्यसपछि सभामुख घिमिरेले बैठक स्थगित गरेका हुन्। 

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनका चालु अधिवेशन मंगलबार राति १२ बजेदेखि अन्त्य गरेका थिए। नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले दुवै सदनका चालु अधिवेशन अन्त्य गरेका हुन्। 

मन्त्रिपरिषद्को सोमबारको बैठकले अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।