वीरगन्ज सुक्खा बन्दरगाह सञ्चालनको जिम्मा भारतीय कम्पनीलाई

वीरगन्ज सुक्खा बन्दरगाह (इन्ल्यान्ड क्लियरेन्स डिपो)को व्यवस्थापन र सञ्चालनको जिम्मेवारी भारतीय कम्पनी प्रिस्टिन मेगा लजिस्टिक पार्क प्रालिले पाएको छ।

पर्सा– वीरगन्ज सुक्खा बन्दरगाह (इन्ल्यान्ड क्लियरेन्स डिपो)को व्यवस्थापन र सञ्चालनको जिम्मेवारी भारतीय कम्पनी प्रिस्टिन मेगा लजिस्टिक पार्क प्रालिले पाएको छ।

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले आगामी पाँच वर्षका लागि सुक्खा बन्दरगाह सञ्चालन र व्यवस्थापनका लागि प्रिस्टिन मेगा लजिस्टिक पार्क प्रालि चार अर्ब ७१ करोड रुपैयाँ लागतमा छनोट भएको जानकारी दिए।

समितिका अनुसार सुक्खा बन्दरगाहको व्यवस्थापन र सञ्चालनका लागि आह्वान गरेको बोलपत्रको प्राविधिक मूल्यांकनमा कन्टेनर कर्पाेरेसन अफ इन्डिया लिमिटेड र प्रिस्टिन मेगा लजिस्टिक पार्क प्रालि छनोट भएका थिए। 

कन्टेनर कर्पाेरेसन अफ इन्डिया प्रालिले भने चार अर्ब ५१ करोड रुपैयाँ रकमको बोलकबोल गरेको थियो। समितिका अनुसार छनोट भएको कम्पनीसँग ठेक्का सम्झौता भएपछि आगामी साउनदेखि पाँच वर्षसम्म सुक्खा बन्दरगाहको व्यवस्थापन र सञ्चालनको काम गर्न पाउनेछ। यसअघि पनि सोही कम्पनीले तीन अर्ब ३३ करोड रुपैयाँ लागतमा पाँच वर्षका लागि सुक्खा बन्दरगाह व्यवस्थापन र सञ्चालनको ठेक्का प्राप्त गरेको थियो। 

वीरगन्जको सिर्सियास्थित सुक्खा बन्दरगाह ५७ बिघा क्षेत्रफलमा अवस्थित छ। यस बन्दरगाहमा कार्गो रेलबाट मात्रै मालसामान ल्याउने गरिन्छ। यो सन् २००० मा विश्व बैंकको ऋण सहयोगमा ८२ करोड रुपैयाँ लागतमा निर्माण गरिएको हो। भारत सरकारको २० करोड रुपैयाँ लागतमा रक्सौलदेखि बन्दरगाहसम्म रेल लिंक निर्माण गरिएको छ। 

वीरगन्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा भने ३२ अर्ब ३२ रुपैयाँ करोड राजस्व संकलन गरेको छ। गत आर्थिक वर्षमा भने सो कार्यालयले ४७ अर्ब ३१ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो।