यूएईमा १६६ नेपालीले पाए आममाफी

इस्लाम धर्मावलम्बीको पवित्र महिना र इदको अवसरमा त्यहाँको सरकारले जेल सजाय भोगिरहेका १६६ नेपालीलाई आममाफी दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

काठमाडाैँ– संयुक्त अरब इमिरेट्स (यूएई)मा विभिन्न मुद्दामा जेल सजाय भोगिरहेका १६६ जना नेपालीले आममाफी पाएका छन्। इस्लाम धर्मावलम्बीको पवित्र महिना र इदको अवसरमा त्यहाँको सरकारले १६६ जना नेपालीलाई आममाफी दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

अबुधाबीस्थित नेपाली दूतावासमार्फत नेपाल सरकारले गरेको अनुरोधपछि यो माफी दिने निर्णय भएको हो। परराष्ट्र मन्त्रालयले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै यूएई सरकारले देखाएको मानवीय सद्भावको उच्च प्रशंसासहित धन्यवाद ज्ञापन गरेको छ।

मन्त्रालयले यो माफी नेपाल र संयुक्त अरब इमिरेट्सबीचको द्विपक्षीय सम्बन्धमा सद्भावको प्रतीक भएको जनाएको छ। साथै, यूएई सरकारको यो कदमले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाएको मन्त्रालयको विश्वास छ।