गुजरातको पटाका गोदाममा विस्फोट हुँदा १८ जनाको मृत्यु, ५ घाइते

भारतको गुजरात राज्यमा मंगलबार एक पटाका गोदाममा भएको विस्फोटपछि आगलागी हुँदा १८ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन्।

भारतको गुजरात राज्यमा मंगलबार एक पटाका गोदाममा भएको विस्फोटपछि आगलागी हुँदा १८ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन्।

बनासकाँठा जिल्लाको डीसा नगरमा भएको विस्फोटबाट गोदामको केही भाग भत्किएर कैयौँ मानिस फसेको बताइएको छ। मृतकमध्ये अधिकांश त्यही गोदामामा काम गरिरहेका मजदुर हुन्। प्रहरीका अनुसार, शुरूमा ६ जनाको मृत्यु भएको खबर आएको थियो। तर आगो नियन्त्रणमा आएपछि खोजी गर्दा मृतक संख्या बढेको हो।

बनासकाँठाका प्रहरी उपरीक्षक अक्षयराज मकवानाले घटनाको सम्बन्धमा उजुरी परेको बताए। “घटनाको जानकारी पाउनेबित्तिकै हामीले उद्धार कार्य शुरू गर्‍यौँ। स्ल्याब भत्किँदा हालसम्म १८ जनाको मृत्यु भएको छ,” उनले भने, “धारा ३०४ (लापरबाहीले मृत्यु निम्त्याउने)अन्तर्गत एफआईआर दर्ता भइरहेको छ र जिम्मेवार व्यक्तिविरुद्ध कडा कारबाही गरिनेछ।”

घटनाका बेला कति मजदुर उपस्थित थिए, यकिन हुन सकेको छैन। हाल उद्धारकार्य जारी छ। प्रहरी, नगरपालिकाका कर्मचारी र जिल्ला प्रशासनसहित करिब २०० जना उद्धारकर्मी खटिएका छन्। प्रहरीले घटनाको अनुसन्धान शुरू गरिसकेको छ भने प्रशासनले आगलागीको कारण र क्षतिको मूल्यांकन गरिरहेको छ।

भारतमा पटाका कारखाना र गोदाममा सुरक्षा मापदण्ड बेवास्ता गरिने भएकाले यस्ता दुर्घटना बारम्बार भइरहेका छन्।