विज्ञप्तिमा ६ जना हराइरहेको अवस्थालाई ‘गम्भीर’ भन्दै राज्यविहीनसँगै भुटानी शरणार्थीको बेपत्ताबारे ध्यान दिन नेपाल तथा अमेरिका, राष्ट्रसंघीय शरणार्थी आयोगसहितका निकायलाई आह्वान गरिएको छ।
काठमाडौँ– अमेरिकाबाट भुटान ‘डिपोर्ट’ गरिएका शरणार्थीलाई पुरानै शैलीमा भारतीय मार्ग हुँदै जबरजस्ती नेपाल छिर्न बाध्य पार्ने भुटानी रवैया र अमानवीय कार्यको भुटानी शरणार्थीसम्बद्ध अधिकारवादी निकाय तथा शरणार्थी प्रतिनिधिले भर्त्सना गरेका छन्।
“भुटान सरकारले केही दिनअघि अमेरिकाबाट निर्वासित भएका भुटानीलाई स्वीकारे पनि तत्कालै न्यूनतम मानव अधिकारको प्रत्याभूति दिनुको सट्टा रातारात फेरि देश निकाला गर्ने दुष्ट कार्य गरेको छ। भुटानको यस्तो अमानवीय कार्य भर्त्सनायोग्य तथा निन्दनीय छ,” झापास्थित शरणार्थी अधिकारकर्मी संस्था तथा व्यक्तिको मंगलबार बिर्तामोडमा सम्पन्न भेलापछि जारी विज्ञप्तिमा भनिएको छ।
शरणार्थी समस्याको दीर्घकालीन समाधानका लागि बहुपक्षीय वार्ताको पहलमा नेपाल सरकारको तदारुकता आवश्यकता रहेको उनीहरूको निष्कर्ष छ। “कथित प्रजातन्त्रको घोषणापश्चात् पनि आफ्ना नागरिकलाई बलपूर्वक देश निष्कासन गर्ने वा बेपत्ता पार्ने अभ्यासमा सुधार नआएको हालैको घटनाक्रमले पुष्टि गरेको छ,” विज्ञप्तिमा भनिएको छ, “भुटानी नागरिकलाई पटक–पटक शरणार्थी बन्नबाट बचाउन र शरणार्थी समस्याको दीर्घकालीन समाधान हुन बहुपक्षीय वार्ताको पहलमा नेपाल सरकारको तदारुकता जरुरी छ।”
संयुक्त विज्ञप्तिमा भुटान पिपल पार्टीका अध्यक्ष बलराम पौड्याल, भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समितिका कार्यवाहक अध्यक्ष तिलक राई, ड्रुक नेसनल कांग्रेस(प्रजातान्त्रिक) अध्यक्ष रिन्जिन दोर्जी, भुटान स्वतन्त्र जनमञ्चका महासचिव डीबी सुब्बा र नेशनल रिकन्सिलेसन कमिटी–भुटानका संयोजक कृष्णवीर तामाङले हस्ताक्षर गरेका छन्।
अमेरिका सरकारको डिपोर्टेसनमा परेका १० भुटानीमध्ये हाल चारको अवस्था मात्रै ज्ञात रहेको र अरू ६ जना हराइरहेको अवस्थालाई ‘गम्भीर’ भन्दै राज्यविहीन अवस्थासँगै भुटानी शरणार्थीको यो बेपत्ता अवस्थामा ध्यान दिन नेपाल सरकार तथा अमेरिका, राष्ट्रसंघीय शरणार्थी आयोगसहित सम्बद्ध अन्तर्राष्ट्रिय निकायलाई आह्वान गरिएको शरणार्थी प्रतिनिधि दिल भुटानीले बताए।
यसअघि, अमेरिका डिपोर्ट गरिएकामध्ये रोशन तामाङ, सन्तोष दर्जी र आशिष सुवेदी शुक्रबार राति झापाको बेलडाँगी शरणार्थी शरणार्थी शिविर आइपुगेका थिए। मंगलबार बाहुनडाँगीमा अशोक गुरुङसमेत फेला परेका छन्। उनीहरूलाई अहिले काँकडभिट्टास्थित अध्यागमन कार्यालयमा आवश्यक अनुसन्धान प्रक्रियामा राखिएको छ।
कार्यालयका प्रमुख तुलसी भट्टराईका अनुसार, यी चारै जनाले आफ्ना साथमा अमेरिकाबाट डिपोर्ट गरिएको, नेपाल प्रवेश गर्दाको प्रमाण कागज केही पनि नरहेको बताएकाले अनुसन्धान प्रक्रियामा कठिनाइ भएको छ। गृह मन्त्रालय र अध्यागमन कार्यालयले दिने अन्तिम निर्णयका आधारमा यी चार जना भुटानी शरणार्थीलाई के कसरी, कता राख्ने र कुन तहको कानूनी कारबाही गर्ने भन्ने टुंगो लाग्ने भएको भट्टराईले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
