काभ्रेपलान्चोकको महाभारत गाउँपालिकाको केन्द्र देवीटार जोड्ने ८.७ किलोमिटर सडकको ट्र्याक खोलेर सडक कालोपत्रका लागि २०७७ असोजमा काम शुरू भए पनि पूरा भएको छैन।
धुलिखेल– काभ्रेपलान्चोकको महाभारत गाउँपालिकाको केन्द्र देवीटार जोड्ने सडकखण्ड पाँच वर्षसम्म पनि सम्पन्न भएको छैन।
८.७ किलोमिटर ट्र्याक खोलेर सडक कालोपत्रका लागि २०७७ असोज २० मा शिलान्यास गरिएको थियो। बागमती प्रदेश सरकारको सहयोगमा सडक निर्माण शुरू भएको थियो।
सडक निर्माणले निरन्तरता नपाउने र काम गरेका मजदुरको ज्यालासमेत भुक्तानी नगरेपछि कामले गति लिन सकेको छैन। स्थानीय लीलाध्वज ग्लानले ठेकेदार नियमित नआउने, कामदारले काम गरेको पैसा नपाएका कारण पाँच वर्षदेखि सडक अलपत्र अवस्थामा रहेको बताए। पछिल्लो दुई महिनादेखि काम ठप्प रहेको उनको भनाइ छ।
स्थानीय टेकबहादुर घिसिङले सडक पक्की हुने भन्दै उत्साहित नागरिक अचेल निराश भएको गुनासो गरे। “ठेकेदारले सडक छेउ भित्ता खनेर त्यसै छोडेका छन्। समयमा काम सम्पन्न नगर्दा सडकको प्रयोग गर्न त पाइएको छैन नै, बर्खामा बाढीले घरबारी बगाउने र कतै पहिरो जान्छ कि भन्ने डरले रातभरि जागै बस्नुपर्ने अवस्था रहेको छ,” उनले भने।
स्थानीय बासिन्दा कर्णबहादुर थिङले दुई वर्षभित्रमा कालोपत्र गर्ने भनिएको सडक पाँच वर्ष बितिसक्दा पनि सम्पन्न नभएकाले हिलो धुलोले थप पीडा भएको बताए। महाभारत गाउँपालिका—६ का वडाध्यक्ष रमेश लुंगेली मगरले पछिल्लो समयमा ट्र्याक खोलेर तारजाली पर्खाल लगाउने काम भए पनि बर्खामा सबै बगाएपछि समस्यामा भएको जानकारी दिए। काम गर्ने भनेर थुपारेका सामान पनि अलपत्र छन्। “ट्र्याक खोलेर त्यसको उचित व्यवस्थापन नगर्दा आवतजावतमा मात्रै नभएर भित्ता भत्किने, बर्खामा हिलो र हिउँदमा धुलो हुने समस्याले सबै हैरान छौँ। पहिरोको जोखिमले छेउछाउका परिवार निकै त्रासमा छन्,” उनले भने।
महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले गाउँपालिका केन्द्र जोड्ने पहिलो बहुवर्षीय योजनाअन्तर्गत करिब ४९ करोड लागतमा कालोपत्रसहितको सो योजना सम्पन्न नभएको बताए। सजिलो स्थानतिर करिब डेढ किलोमिटर जति कालोपत्र गरे पनि अप्ठ्यारो भागमा काम हुन नसक्दा थप समस्या भएको छ।
पछिल्लो पटक थपेको समयसीमा पनि आगामी वैशाखसम्म मात्रै रहे पनि समयमा काम सम्पन्न हुने अवस्था नदेखिएको अध्यक्ष जिम्बाले बताए। पूर्वाधार विकास कार्यालय काभ्रेपलान्चोकका कार्यालय प्रमुख राजु श्रेष्ठले अब चाँडै काम बताए। ठेकेदारलाई तोकिएको समयमै काम सक्न निर्देशन दिइएको उनले जानकारी दिए। हालसम्म समग्रमा ६० प्रतिशत र करिब दुई किलोमिटर सडक कालोपत्र भइसकेको छ।
बागमती प्रदेशसभा सदस्य रत्नप्रसाद ढकालले सम्बन्धित मन्त्रालयका मन्त्री र कर्मचारीले स्थलगत अनुगमन गरिसकेको र मन्त्रालयमा नै बसेर धेरैपटक उक्त सडकका विषयमा छलफल गरेर ताकेता गरिएको बताए।
श्रेष्ठ/साक्ष्मक जेभीसँग २०७७ असार ३० मा २५ करोड ८२ लाख १० हजार रुपैयाँमा ठेक्का सम्झौता भई २०७९ असार ३० गतेभित्रमा सम्पन्न गर्ने समयसीमा तोकिएको थियो। त्यसपछि दुई पटक म्याद थप भइसकेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
