चितवन राष्ट्रिय निकुञ्जले लगायो ५०० हेक्टर क्षेत्रफलमा नियन्त्रित डढेलो

चितवन राष्ट्रिय निकुञ्जले पाँच सय हेक्टरभन्दा बढी क्षेत्रफलमा नियन्त्रित डढेलो लगाएको छ। गत फागुन दोस्रो सातादेखि निकुञ्जले घाँसेमैदान व्यवस्थापनका लागि नियन्त्रित डढेलो लगाएको हो।

चितवन– चितवन राष्ट्रिय निकुञ्जले पाँच सय हेक्टरभन्दा बढी क्षेत्रफलमा नियन्त्रित डढेलो लगाएको छ। गत फागुन दोस्रो सातादेखि निकुञ्जले घाँसेमैदान व्यवस्थापनका लागि नियन्त्रित डढेलो लगाएको हो।

निकुञ्जका कर्मचारी, नेपाली सेना, स्थानीयसहितको टोलीले डढेलो लगाएर नियन्त्रणमा लिएका निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले बताए। उनका अनुसार निकुञ्जको पूर्वी क्षेत्रमा दुई सय हेक्टरभन्दा बढी र पश्चिम क्षेत्रमा तीन सय हेक्टरभन्दा बढी क्षेत्रफलमा डढेलो लगाइएको थियो। यसका लागि निकुञ्जले मध्यवर्ती सामुदायिक वनका उपभोक्ता समितिहरूसँग पनि समन्वय गरेको थियो।

अहिले नियन्त्रित डढेलो लगाइसकेक‍ाले अग्नि रेखा व्यवस्थापनको कामलाई तीव्र बनाइएको सूचना अधिकारी थापामगरले बताए। उनले भने, “निकुञ्जभित्र रहेका अग्नि रेखाहरूको  व्यवस्थापनको काम भइरहेको छ। सरसफाइ गर्ने, नयाँ अग्नि रेखा बनाउनेलगायत काम भइरहेका छन्।”

पछिल्ला दिनमा अनियन्त्रित डढेलो लगाउन शुरू भएकाले यसलाई रोक्न नेपाली सेना र निकुञ्ज कर्मचारीसहित २० जनाको संयुक्त ‘रेस्पोन्स’ समूह बनाएर पनि काम भइरहेको उनको भनाइ छ। उनका अनुसार निकुञ्जमा १० हजार हेक्टर क्षेत्रफल घाँसेमैदान रहेकामा अहिले पाँच सय हेक्टर क्षेत्रफलको घाँसेमैदान व्यवस्थापन गरिएको छ।

“नियन्त्रित डढेलोबाट वन्यजन्तुले नखाने ढड्डी, फोहर, पातलगायत घाँस डढ्ने गर्दछ। घाँसेमैदानमा नियन्त्रित डढेलो लगाउँदा नयाँ र कलिलो घाँस पलाउने भएकाले जनावरलाई चरनका लागि सहज हुन्छ,” उनले भने, “नियन्त्रित डढेलोले जनावरमा क्षति गर्दैन। उल्टै डढेलोपछि उम्रने कलिलो घाँसका कारण वन्यजन्तु बस्ती पस्न पनि कम हुन्छ।”

वसन्तयममा घाँस तथा बुट्टयानमा नयाँ पालुवा पलाउने मौसम भएकाले नियन्त्रित डढेलो लगाउने गरिन्छ। यस निकुञ्जमा गैँडा, बाघ, हात्ती, चित्तललगायत दुलर्भ वन्यजन्तुहरू छन्। यहाँ विश्वभरबाट पर्यटक जंगल सफारीका लागि आउने गर्दछन्।

नियन्त्रित डढेलो लगाएर निकुञ्ज सफा भएपछि निकुञ्जभित्रको बाटोबाट टाढाटाढासम्म वन्यजन्तु देख्न सकिन्छ। डढेलोपछिको मौसममा पर्यटकहरूले सहजै वन्यजन्तु देख्ने भएकाले सफारीका लागि रुचाउने निकुञ्ज कार्यालयले जनाएको छ।