अटिजमबारे जागरुकता जगाउन सडक नाटक

समुदायमाझ अटिजमबारे बुझाउने उद्देश्यले विश्व अटिजम जागरुकता दिवसको अवसरमा अभानी फाउन्डेशनले ललितपुर पाटनमा नाटक र नाचगान प्रदर्शन गरेको छ।

तस्वीरहरू : मनिष पाैडेल

ललितपुर– बुधबार दिउँसो ललितपुर दरबार स्क्वायरमा मानिसहरूको भीड थियो। अटिजम भएका बालबालिका तथा वयस्कले देखाउने व्यवहार झल्किने गरी देखाइएको सडक नाटक हेर्न मानिसहरू त्यहाँ भेला भएका थिए।

हरेक वर्ष अप्रिल २ मा विभिन्न कार्यक्रम गरी अटिजम जागरुकता दिवस मनाइन्छ। यसै अवसरमा अटिजम क्षेत्रमै काम गर्ने अभानी फाउन्डेशनले अटिजमबारे सचेतनामूलक नाटक र नाच प्रदर्शन गरेको हो। अटिजमको लक्षण, अविभावकहरूले बुभ्नुपर्ने कुराहरू र अपनाउनुपर्ने सावधानीका विषयमा नाटक गरिएको थियो।

अहिले अटिजमबारे धेरैले सुनेको तर बुझ्न नसक्दा समस्या भइरहेको फाउन्डेशनकी संस्थापक प्रज्ञा श्रेष्ठ प्रधानले बताइन्। समाजमा अटिजमलाई बुझ्न नसक्दा अटिजम भएकाहरूले विभिन्न समाजिक समस्याहरू समाना गर्नुपरेको उनले बताइन्। अटिजम र नागरिकबीचको अन्तरलाई कम गर्न नाटकमार्फत जानकारी दिएको उनको भनाइ छ।

“अटिजम एक न्युरोडेभ्लपमेन्टल समस्या हो। तर समाजमा यसलाई रोगको रूपमा लिइन्छ,” उनले भनिन् “अहिले धेरैले अटिजमको बारेमा सुनेका छन् तर बुझेका छैनन्। अटिजम के हो र कसरी यसलाई सन्तुलनमा ल्याउने भन्ने जानकारी कार्यक्रममार्फत दिइएको छ।”

कार्यक्रममा फाउन्डेशनमै कार्यरत शिक्षक, हेरचाहकर्ताहरूले प्रस्तुति दिएका थिए। आजकै दिन पारेर फाउन्डेशनले अटिजमबारे जानकारी समेटेर तयार पारेको गीत पनि सार्वजनिक गरेको छ।

के हो अटिजम?
बाल रोग विषेशज्ञ डा. अनिलराज ओझाका अनुसार अटिजम एक न्युरोडेभलपमेन्टल समस्या हो। यसले मानिसको सामाजिक अन्तरक्रिया, सञ्चार र व्यवहारलाई असर गर्छ। ओझाका अनुसार यो एक स्पेक्ट्रम डिसअर्डर हो। यसको लक्षण र विशेषताहरू फरक हुने डा.झा बताउँछन्।

उनका अनुसार सामान्यतया अटिजम कम उमेरमै पत्ता लाग्छ। यद्यपि कहिलेकाहीँ वयस्कमा पनि देखिने गर्छ। अटिजमको लक्षण धेरै प्रकारका हुन्छन्। समान्यत: सामाजिक अन्तरक्रिया वा दोहोरो कुराकानी नगर्ने, अन्य कुनै प्रकारको सञ्चार समस्या हुने, व्यवहार दोहोरिने, संवेदनशीलता छुट्टाउन नसक्नेजस्ता लक्षणहरू देखा पर्छन्।

कतिपयले यीमध्ये कुनै नहुने तर अन्य खाले समस्या जस्तै, नयाँ गतिविधिमा भिज्न कठिनाइ हुने वा परिवर्तन स्वीकार्न नसक्ने, कुनै विशेष विषय वा वस्तुहरूमा गहन चासो हुने, आफ्नो आधारभूत आवश्यकतामा ध्यान दिन नसक्ने हुन्छन्। यो पत्ता लागेपछि जति चाँडो उपचार गर्न सकियो त्यति सहज हुने र निरन्तर आवश्यक तालिम तथा परामर्श लिएमा अटिजमलाई सन्तुलनमा ल्याउन सकिने डा.ओझाले बताए।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर एक सय मानिसमध्ये एक जनालाई अटिजम हुने गरेको छ। जन्मेको तीन वर्षभित्र अटिजमको लक्षणहरू बच्चामा देखिने गर्छ। अटिजमको जोखिम केटीभन्दा केटाहरूमा चार गुणाले बढी हुने गरेको विभिन्न अध्ययनले देखाएका छन्। धेरै उमेर भएका जोडीबाट जन्मिने बच्चाहरू यसको जोखिम बढी हुने गरेको छ।