चैत १६ गतेसम्म सामान्य चहलपहल रहेको विमानस्थलमा त्यसयता सुनसान छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १८ घण्टा सञ्चालन आएसँगै भैरहवाबाट उडान भरिरहेका विमानले ‘सेड्युल’ लिन छानेका छन्।
भैरहवा– भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल एकपटक पुनः सुनसान भएको छ। चैत १६ गतेसम्म केही चहलपहल रहेको विमानस्थलमा त्यसयता विमान कम्पनीले उडान गर्ने चासो देखाएका छैनन्।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालनका लागि यहाँबाट उडान भरिरहेको वायुसेवा कम्पनीले गर्मीयामका लागि ‘समर सेड्युल’ लिएका छैनन्। यसले अब यहाँबाट सातामा एक दिन नेपाल एयरलाइन्सको विमान बाहेक अन्य अन्तर्राष्ट्रिय उडान हुने छैन।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १८ घण्टा सञ्चालन आएसँगै भैरहवाबाट उडान भरिरहेका विमान बन्द हुनु संयोग मात्र हुन नसक्ने भन्दै यहाँका व्यवसायीले आक्रोश पोखेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान अवधि घट्दा भैरहवा विमानस्थललाई ‘डाइभर्सन पुल’ को रूपमा प्रयोग गरिएको उनीहरूको भनाइ छ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता श्यामकिशोर साहले भैरहवाबाट उडान हुँदै आएका जजिरा एयरलाइन्स, फ्लाई दुबई, थाइ एयर एसियाले ‘समर सेड्युल’ नलिएको बताए। जजिरा एयरवेजले ‘मे’ महिनादेखि भैरहवाबाट उडान भर्ने आश्वासन दिएको छ।
साहले भैरहवा विमानस्थलबाट उडान र अवतरण तथा सेवा प्रवाहमा भने कुनै समस्या नरहेको बताए। “शुरूमा जनवरीमा महिनामा ‘लो भिजिबिलिटी’ को कारण थोरै समस्या भयो। तर यो नगण्य मात्रामा थियो,” उनले भने, “वायुसेवा कम्पनीलाई, यात्रुलाई दिनुपर्ने सेवा प्रवाह तथा प्राविधिकसम्बन्धी अन्य खासै समस्या आएन।”
साहले विमानस्थल सञ्चालनमा सरकारको मात्र नभई निजी क्षेत्रको उत्तिकै महत्त्वपूर्ण भूमिका रहेको तर निजी क्षेत्र नै यहाँ आउन इच्छुक नरहेको उनले जिकिर गरे। “विमानस्थल सञ्चालन हुनु भनेको अन्य व्यवसायको जननी हो, व्यवसाय मुख्य ‘हब’ भएको यस्तो स्थानमा निजी क्षेत्रको पहल अलि कम भएको मेरो विश्लेषण रहेको छ,” उनले भने, “काठमाडौँबाट उड्ने सबै यात्रु काठमाडौँकै होइनन्, समग्र नेपालका हुन्। यस्तो अवस्थामा सबै यात्रु काठमाडौँबाट नै उड्न खोज्नु भन्नु भैरहवामा केही जटिलता त छ भन्ने देखाउँछ।”
प्रवक्ता साहका अनुसार वैदेशिक उडानको लागि आवश्यक पर्ने भिसा सेन्टर, श्रम स्वीकृति, मेन पावर, ट्रावल एजेन्सीलगायत तालमाल मिलेको देखिँदैन। काठमाडौँमा केन्द्रित ठूला ट्राभल एजेन्सी र मेनपावर एजेन्सीलाई यता आकर्षित गर्न सकिए मात्र विमानस्थल दीर्घकालीन रूपमा सञ्चालन हुन सक्ने उनको बुझाइ छ। यसको लागि सरकारले पहल गरे निजी क्षेत्रले भने पहल गर्न सकेका छैनन्।
विमानस्थल सञ्चालनका लागि आन्दोलन गर्दै आएको सिद्धार्थ सञ्जाल रुपन्देहीका अध्यक्ष अनिल ज्ञवाली यो भनाइ कर्मचारीको बहाना मात्र भएको बताउँछन्। नेपाल सरकारले विमानस्थलबाट विमान कम्पनीहरूलाई दिने छुट सुविधा समयमै प्रदान नगर्नु प्रमुख कारण रहेको उनको भनाइ छ। उनका अनुसार वायुसेवा कम्पनीलाई यहाँबाट उडान नगर्नुको एउटा निहुँ मात्र भएको छ। यसबाहेक काठमाडौँ केन्द्रित व्यवसायीले काठमाडौँभन्दा बाहिर उडान गराउन नचाहेको आरोप उनको छ। ज्ञवालीले सरकारले नै विमानस्थल सञ्चालन गर्न नचाहेको आरोप लगाउँदै यहाँका स्थानिय फेरि आन्दोलित हुने वातावरण बनाएको बताए।
त्यसो त भैरहवा विमानस्थलमा वायुसेवा कम्पनीले यात्रु नपाएको भन्ने खबर गलत रहेको तथ्यांकले देखाउँछ। विमानस्थलका प्रवक्ता साहले उपलब्ध गराउनुभएको जानकारीअनुसार ‘विन्टर सेड्युल’ अर्थात् जनवरी, फरवरी र मार्च महिनामा गरी विमानस्थलबाट १५ हजार १४८ जना यात्रुले सेवा लिएका छन्। यसमा आठ हजार ३९ जनाको आगमन भएको छ भने यहाँबाट सात हजार १०७ जना उडेका छन्।
मार्च महिनामा मात्रै सात हजार ३४ जना यात्रुहरूले विमानस्थलबाट सेवा लिएका छन्। यसमा सबैभन्दा बढी जजिरा एयरलाइन्स र फ्लाई दुबईले यात्रु बोकेको तथ्यांकबाट देखिन्छ। जजिराले मार्च महिनामा तीन हजार ६०७ यात्रु र फ्लाई दुबईले दुई हजार ३२३ यात्रु बोकेको छ।
विमानस्थलबाट उडान नहुनु सरकारी उदासिनता रहेको र भैरहवा विमानस्थललाई ‘डाईभर्सन पुल’ को रूपमा मात्र प्रयोग गरिएको यहाँका व्यवसायीको आरोप छ। गत कात्तिक २३ देखि विमानस्थलभित्र भौतिक संरचना निर्माणको काम थालिएपछि त्रिभुवन विमानस्थल दैनिक १० घण्टा बन्द गरिएको थियो।
मंलबारदेखि उडान समय लम्बिएसँगै भैरहवाबाट हुने उडान स्थगित हुनुलाई संयोग मात्र मान्न नसकिने सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यको भनाइ छ। काठमाडौँको विमानस्थललाई समय घटाएर सञ्चालन गरिँदा भैरहवा विमानस्थललाई प्रयोगमा ल्याउनको लागि डाइभर्सन पूलको रूपमा प्रयोग गरिएको भन्ने निजी क्षेत्रको आशंका अहिले आएर सत्य भएको उनको भनाइ छ।
अध्यक्ष आचार्यले विमानस्थल सञ्चालनमा निजी क्षेत्रले सक्ने जति प्रयास गरे पनि सरकारले नै चासो नदेखाएको गुनासो गरे। उनका अनुसार साउन २८ गतेको मन्त्रिपरिषद् बैठकले नागरिक उड्डयन क्षेत्रको समग्र सुधारसम्बन्धी कार्ययोजना स्वीकृत गरेको थियो। भैरहवा र पोखराका अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने सरकारको नीति अनुरूप विमानस्थल सञ्चालनलाई सहजीकरण गर्न नेपाल आयल निगमले उक्त विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय हवाई उडानमा प्रयोग हुने हवाई इन्धनको मूल्यमा छुट दिने निर्णय गरेको छ।
निगमको सञ्चालक समितिको गत साउन ३१ गतेको बैठकले भदौ १ गतेदेखि लागू हुने गरी हाल कायम रहेको हवाई इन्धनको बिक्री मूल्यमा प्रतिकिलोलिटर अमेरिकी डलर १०० अर्को निर्णय नभएसम्मका लागि कम गर्ने निर्णय गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ।
अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न सरकारले हवाई इन्धनदेखि टिकटसम्म सहुलियत दिइरहेको छ। सरकारले पर्यटन बोर्डले प्रतिटिकट लिने शुल्क पनि उक्त समयभर दुई विमानस्थलको हकमा नलिने गरी सहुलियत दिने र हवाई टिकटमा लगाइएको भ्याट पनि २०८३ भदौसम्म छुट दिएको छ। काठमाडौँको विमानस्थलमा उपलब्ध हुने इन्धनको मूल्यभन्दा भैरहवामा इन्धनको मूल्य सस्तो रहेको छ। तर सरकारले प्रदान गर्ने यस्ता सुविधालाई समयमै दिनुपर्ने भन्दै सरोकारवालाले सरकारको ध्यानाकर्षण गराएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
