आगजनीबाट क्षतिग्रस्त जडीबुटी कम्पनी अस्थायी रूपमा सञ्चालनमा ल्याउन १० करोड चाहिने

वनमन्त्री ऐनबहादुर शाहीले राजसंस्था समर्थकको चैत १५ गतेको प्रदर्शनका क्रममा आगजनी भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीलाई अस्थायी रूपमा सञ्चालन गर्न तत्काल करिब १० करोड आवश्यक पर्ने बताएका छन्।

काठमाडौँ– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले राजसंस्था समर्थकको चैत १५ गते गरेको प्रदर्शनका क्रममा आगजनी भएको जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रलाई अस्थायी रूपमा सञ्चालन गर्नकै लागि तत्काल करिब १० करोड रुपैयाँ आवश्यकता पर्ने बताएका छन्। मन्त्री शाहीले बिहीबार केन्द्रको अवलोकनपछि सञ्चारकर्मीसँगको कुराकानी गर्दै आगजनीपछि केन्द्रको व्यवस्थापन जटिल बनेको बताएका हुन्। 

उनले प्रारम्भिक मूल्यांकनमा करिब २८ करोड रुपैयाँ हाराहारी क्षतिको विवरण आएको बताए। “घटनापछि निरन्तर रूपमा कम्पनीको व्यवस्थापन र कर्मचारीको परिस्थिति अत्यन्तै जटिल छ। हामीले त्यो बुझिरहेका छौँ। अब यसलाई छिटोभन्दा छिटो सञ्चालन गर्न, प्रारम्भिक क्षति मूल्यांकन गर्न सम्बन्धित प्राविधिक, विज्ञ राखेर प्रारम्भिक मूल्यांकन गरिएको छ। करिब २८ करोडको हाराहारीमा क्षति भएको र यसमा घटबढ हुनसक्छ,” उनले भने।

त्यस्तै, उनले केन्द्रलाई तत्काल सञ्चालन लागि आवश्यक १० करोड रुपैयाँका विषयमा मन्त्रिपरिषद्को बैठकमा छलफल भइसकेको ‍बताए। “१० करोड रुपैयाँ जतिको रकम भयो भने अस्थायी रूपमा सञ्चालन गर्न सक्छौँ भन्ने कुरा आएको छ‍। त्यो सबै मन्त्रिपरिषद्को बैठकमा छलफल भइसकेको छ,” उनले भने। उनले यथाशीघ्र प्रक्रिया पूरा गरेर केन्द्र सञ्चालन गरिने उनको भनाइ छ।