यी मान्छे हुन् कि लात्ते–भकुन्डो?

अमेरिकाले भुटान ‘डिपोर्ट’ गरेका भुटानी शरणार्थीमध्ये धेरै आज बेपत्ता छन्। के ती ‘मान्छे’को हैसियतमा पनि थिएनन्, जसबारे सोधिखोजी गरिएकै छैन! 

“आँखा छ हाम्रो तर देख्छ अरूले
कलम छ हाम्रो तर लेख्छ अरूले
गाउँ छ हाम्रो तर बस्छ अरू नै
जीवन छ हाम्रो तर खेल्छ अरू नै !”

धेरै धेरै धन्यवाद छ कवि नरदेन रुम्बालाई, जसले वर्षौंवर्ष अघि यो गीत लेखेका थिए। सन् ८० को दशकमा दार्जिलिङे चिया कमानका बुटाहरूमा भाग्यभन्दा बढी भवितव्य खोज्दै आउने नेपाली दाजु दिदीका नाममा रुम्बाले यो गीत लेखे। यसै गीतका शब्दहरू पछि गएर गोर्खाल्यान्डमा हराउने–बिलाउनेहरूका नाममा पनि मिल्न गयो। 

अर्कै भावभूमी र कथनका निम्ति बुनिएको सो गीत अहिले फेरि भुटानबाट दोहोरिँदै लखेटिएका नेपाली दाजुभाइका नाममा मिल्दो हुन गएको छ। दोहोरिँदै लखेटिएका यस अर्थमा कि अहिले समाचारमा आएका केही युवाहरू ३० वर्षअघि आफ्ना बाआमा आफ्नै भुटानी माटोबाट लखेटिएको ‘नियति’मा जोडिन पुगेका छन्, जो उसैगरी फुन्चोलिङ–जयगाउँ–पानीटेंकी हुँदै नेपालमा शरणागत गराइएका छन्। फेरि पनि उस्तै निमुखो हविगतमा नेपालभूमीमा आइपुगेका यी प्रतिनिधि तन्नेरीलाई यसरी अनुसन्धान–थुनामा राखिएको छ, मानौँ यी कुनै एलियन पात्र हुन् र तिनको उत्पत्ति लोक–ग्रहबारे बल्ल खोजबिन थालिँदैछ। 

चैत दोस्रो साता पहिलो चरणमा अमेरिकाबाट भुटान ‘डिपोर्ट’ गरिएका १० भुटानी शरणार्थीको मामलामा खुशी हुने एक थरी अधिकारकर्मी खुलेरै भनिरहेका छन्– “जे भए पनि भुटानले आफ्ना नागरिक भनेर स्वीकार्‍यो, घर फिर्तीको अभियान र आन्दोलनमा यो एउटा ठूलै हातलागी हो।”

अर्काथरि अधिकारवादी भनिरहेका छन्—“भुटान छँदै नागरिकता खोसिएका बाआमाका सन्तान हुन् यी जो अमेरिका पुगेर पनि विविध कारण नागरिक बन्न सकेका थिएनन्। अब यिनलाई बिना हैसियत (पहिचान) मा भुटान डिपोर्ट गरिनासाथै यी फेरि राज्यविहीन भएका छन्। अब यी अनागरिकबारे बोलिदिने कसले? आफ्नो देश खोज्दै कहाँ जाउन् उनीहरू?”

⁎⁎⁎
जेजसरी भुटानले यतिका वर्षसम्म अमेरिकासहित सिंगो बाहिरी विश्वलाई भ्रममा पार्दै/राख्दै आउन सकेको थियो, त्यो कोणबाट हेर्ने हो भने अहिले आएर भुटानले ‘हो, यिनीहरू मेरा नागरिक हुन्, डिपोर्टेसनमा मेरो सहमति छ’ भन्नुमात्रै पनि एउटा विजय हो। तर, मानवअधिकार र मानवतासँग जोडिएको न्यूनतम आधारसमेत पन्छाएर भुटानको पारो विमानस्थल उत्रिएको केही घन्टामै ललाइफकाइ गर्दै वा धम्क्याएको भरमा फेरि यी अनागरिकलाई भारत हुँदै नेपाल पठाउने कृत्य भुटानले जे गरेको छ, यसलाई के भन्ने?

अधिकारवादी गोपालकृष्ण शिवाकोटीले बुधबार अपरान्हमात्रै झापाको काँकडभिट्टा अध्यागमनमा पुगेर ‘डिपोर्ट’ गरिएकामध्ये हाल फेला परेका ४ जना युवा भुटानीसँग भेटवार्ता गरेका थिए। “पूरै त्रसित मनोदशा रहेछ। पारो विमानस्थल उत्रनासाथै खानपिन गराएर र होटेलको अलगअलग कोठामा लगेर गरिएको ‘ब्रिफिङ’ आफैँमा अत्यासलाग्दो रहेछ। तिमीहरूको यहाँ कोही छैन, बस्ने ठाउँ र अधिकार पनि छैन भन्दै नेपाल छिर्न दिइएको उपाय (पकेटखर्च सहित) मानवताविरुद्धको अर्को अपराध पनि हो”, शिवाकोटीले सुनाए।

सन् ९० दशकको भुटानी शरणार्थी रुट र भयातुर दैनिकी सम्झाउने गरी फेरि उही कहानी ‘रिलोडेड’ भइरहेका बेला अमेरिकामा भुटानी नेपाली समाजसम्बद्ध अभियन्ताले उठाएको आवाज झिनो भए पनि अर्थपूर्ण रूपमा उठ्न थालेको छ। बुधवार मात्रै पेन्सिलभेनियामा डाउफिन काउन्टीका कमिसनर (जिल्ला अधिकारी) जस्टिन डग्लसले दिएको जानकारीमा ‘इमिग्रेसन एन्ड कस्टम्स् इन्फोर्समेन्ट (आइसीइ)’ले अहिलेसम्म १८ जना भुटानीलाई भुटान डिपोर्ट गरेको छ। हेरिसबर्ग क्षेत्रका एक भुटानी–नेपाली अभियन्ताका अनुसार आउने साता थप २० जना भुटानीलाई भुटान डिपोर्ट गरिने जानकारी आईसीईले सम्बद्ध परिवारलाई दिइसकेको छ। पछिल्लो एक महिनामा मात्रै ४० भुटानीलाई आइसीइले पक्राउ गरेर विभिन्न केन्द्रमा थुनामा राखिसकेको छ।

धेरैले गत जनवरीमा डोनाल्ड ट्रम्प शासन शुरू भएयता मात्रै गैरकानूनी हैसियतका ‘कागजातहीन’ आप्रवासी नागरिकलाई धरपकड/पक्राउ र डिर्पोटेसन थालेको हो किझैँ गरी बुझ्दै आएका थिए। तर आइसीइले अहिले सार्वजनिक गरेको विवरणमा २०११ अगस्ट १५ मा भुटानी शरणार्थी हैसियतमा अमेरिका प्रवेश गरेका बहादुरसिंह राई घरेलु हिंसाको अभियोगमा परेर २०१३ सेप्टेम्बर २४ मै ‘निर्वासन आदेश’मा परिसकेका थिए। राज्य प्रशासनले कडाइ नगर्दा उनी अदालती र प्रहरी–प्रशासनको ‘तारेख’ बुझ्दै अमेरिकामै बसिरहेका थिए। यस पटक १० जना डिपोर्ट गरिएको पहिलो चरणमा उनै बहादुरसिंह पनि परेका छन् तर, पारो विमानस्थल ल्याएर जयगाउँ हुँदै पानीट्यांकीमा ‘डम्प’ गरिएपछि यी राई के–कता छन्, कहाँ–कसरी बसेका छन् भन्ने कसैलाई थाहा छैन। यी राईसँगै अमेरिकाबाट डिपोर्ट गरिएका अरू ६ जना एक सातायता बेपत्ता स्थितिमा छन्। 

अमेरिकी कानुनी प्रक्रिया पूरा गरेर र तत्कालीन अमेरिकी सरकारको आह्वानअनुसार अन्तर्राष्ट्रिय आप्रवासन संगठन र राष्ट्रसंघीय शरणार्थी आयोगको पहलकदममा अमेरिका पुर्नबसोबासमा गएका भुटानीलाई फेरि पक्राउ तथा डिपोर्टेसन गरिनु आफैमा अन्यायपूर्ण देखिएको छ। आफ्ना नागरिक घर फर्काउन (डिपोर्टेसन) स्वीकार गरेपछि भुटानले तिनको सुरक्षा र अधिकारसहितको प्रतिबद्धता जनाए/नजनाएको कहीँ कसैलाई थाहा हुन सकेको छैन। हिजोसम्म भुटानी शरणार्थी समस्या समाधान भइसक्यो भन्दै आफ्नो प्रशस्ति सुनाउने शरणार्थी आयोग (यूएनएचसीआर), अन्तर्राष्ट्रिय रेडक्रस (आईसीआरसी), आप्रवासन संगठन (आईओएम), एम्नेस्टी इन्टरनेसनल, ह्युमन राइट्स वाचजस्ता संस्थाहरू आज कहाँ र कुन भासमा डुबेका छन् भन्ने कसैले पत्तो पाएका छैनन्। अझ नेपालका हकमा तल शरणार्थी शिविरमा ६ हजार ५ सय जति शरणार्थीलाई छाडिराखेर शिविर–बिन्दुबाट भगौडाझैँ निस्किएको शरणार्थी आयोगले कुन नैतिक धरातलमा काठमाडौँ बसेर आप्रवासन र शरणार्थी अधिकारका वक्तव्य जारी गर्न सकेको हो, आश्चर्य लाग्ने स्थिति छ।

⁎⁎⁎
अमेरिकाले हालै दक्षिण एशियाली राष्ट्र अफगानिस्तान, पाकिस्तानसहित भुटानलाई पनि आफ्नो ट्राभल–एडभाइजरीको पछिल्लो बरीयतामा ‘रेड–लिस्ट’मा राखेको थियो। यही चेपुवा स्थितिमा ‘ग्रस नेसनल ह्यापिनेस’को दुहाइ दिँदै आएको भुटानले तत्कालको लोकलाजका निम्ति आफ्ना नागरिक ‘डिपोर्ट भएमा स्वीकार गरिने’ सर्त मानेको बुझाइ धेरैको छ। ‘‘तर, यो सबै देखावटी कुरा रहेछ र न्यूनतम मानव अधिकारको प्रत्याभूति दिलाउने कामसमेत भुटानले गर्न सकेको छैन”, भुटान पिपल्स पार्टीका सभापति बलराम पौडेल भन्छन्, “यसरी फेरि भुटानले दोस्रो चरणमा पनि आफ्ना नागरिक देश निकाला गरेको छ है भनेर अमेरिका र बाहिरी विश्वलाई भन्नुपर्ने बेला आएको छ, भुटानले बाँड्ने सधैँको भ्रम र अन्योलको भुमरीमा फेरि पनि पर्न थालेको यो स्थिति सहज भने छैन।”

यसरी प्रत्यक्ष–परोक्ष भुटान र भारतका कारण उब्जिएको यो मानवताविरोधी एवं गैर–न्यायिक हरकतबारे कसलाई सम्बोधन गर्ने, कसरी जवाफी बन्ने भन्ने अर्को अन्योल नेपाल सरकारको सम्बद्ध निकायमा फैलिएको देखिन्छ। झापास्थित जिल्ला प्रशासन अध्यागमनको ‘जिम्मामा रहेको’ यो मामला पर्ख र हेरको नीतिमा अडिएको छ भने केन्द्रको मुख ताकेर बसेको छ  जिल्लाको अध्यागमन। केन्द्रका तर्फबाट आफ्नो तालुक निकाय गृह मन्त्रालयतर्फ आवश्यक निर्देशन र निर्णयमा पर्खी बसेको छ भने अमेरिकाको न्युयोर्क र वासिङटनमा रहेका नेपाली कूटनीतिक नियोगहरू ‘यो हाम्रो सरोकारको विषय होइन’ भन्दै बसिरहेका छन्। 

आखिर यो कसको विषय हो? अहिले ४ जना शरणार्थी अनागरिक युवा नेपाली भूमिमा शरणागत भैसकेका छन्, अनुसन्धानकै प्रक्रियामा भए पनि। मुख बोलीमा ‘जताबाट आए, त्यतै पठाइदिने’ भने पनि अनागरिक, राज्यहीन र कागजातहीन बनेका यी शरणार्थीलाई त्यति सजिलै मार्ग प्रशस्त गर्न सकिने पनि होइन। फुन्चोलिङ–जयगाउँपछि झापाको सीमावर्ती पानीट्यांकी किन आइरहने र? १ सय ४४ किलोमिटर खुला नाकाबाट जोकोही बांग्लादेशी, भुटानी, बर्मेली ‘आगन्तुक’ पनि आउजाउ गरिरहेकै छन्। अब आश्चर्य नमाने हुन्छ— फेरि पनि अमेरिकाबाट आइसीइले पक्राउ गरेर भुटानको पारोमा ‘डिपोर्ट’ गरिएका अरू दर्जनौँ भुटानी शरणार्थी बाहुनडाँगीको हात्तीधाप वा खोरीबारी सीमावर्ती सतिघट्टामा चाँडै फेला पर्न पनि सक्छन्! 

हामी अन्तर्राष्ट्रिय मञ्च र कूटनीतिक सहकार्यका अनेक अड्डामा पुगेर शान्ति–सहअस्तित्व तथा सहकार्यका कुरा गर्छौं। तर, भुटान र नेपालको माटो बीचमा झन्डै २०० किलोमिटर लामो भूभाग पर्ने यथार्थ कतै सुनाउँदैनौ वा भन्नै चाहँदैनौँ। ९० को दशकमा चम्किएको र आजसम्मै ‘नाइटो–पिलो’ बनिरहेको भुटानी शरणार्थी मामलामा न्युयोर्क, जेनेभा वा द हेग कतै गएर पनि भन्न सक्दैन— भुटानले त्यसो किन गरेको? भारतले किन यसो गरेको? र, यसपालि अमेरिकालाई पनि सिधै भन्न सकिरहेका छैनौँ कि सुरक्षा र अधिकारको के ‘ग्यारेन्टी’ लिएर भुटान ‘डिपोर्ट’ गरेका थियौ? जीवन जिउने अधिकारबाट वञ्चित गराउँदै ३० वर्षअघि भुटानबाट लखेटिएका शरणार्थी आज अमेरिकामै १ लाखको संख्यामा बसेको यथार्थ के तिमीलाई थाहा थिएन? आखिरमा अमेरिका र भुटानको यो सरोकारमा नेपाललाई टाउको दुखाइ किन? 

अहँ, प्रश्न गरिएको छैन अथवा बेला भएकै छैन। काठमाडौँमा परराष्ट्र मन्त्रालय पनि ‘यो के भइरहेको हो भनेर गृह मन्त्रालयसँग बुझिरहेको’ रहेछ। “यो मामला हाम्रो सरोकारमा आएको छ। हामी पनि गृह मन्त्रालयसँग परामर्शमा छौँ। सरोकार सम्बद्ध निकायमा कुरा अघि बढाउन भनेका छौँ। आवश्यक कदम चालिनेछ”,परराष्ट्रसचिव अमृतबहादुर राईले प्रतिक्रियामा भनेका छन्। तर, यो कदम चाल्ने क्रममा अमेरिका, भुटान वा भारत समेतलाई ‘यस्तो किन’ भनेर प्रश्न गर्ने आँट भने पलाएको देखिन्न। बरु आँट गरेरै भुटानी शरणार्थीका प्रतिनिधिहरू बलराम पौडेल, तीलक राई, रिन्जिन दोर्जी, डीबी सुब्बा, कृष्णवीर तामाङ, दिल भुटानीसमेतले केही अहम् प्रश्न उठाउने आँट गरेका छन्, जवाफ नआए पनि। 

हो, सुन्दैमा अपत्यारिलो लाग्ने खबर यस्तो पनि छ कि अमेरिकाले निर्वासित (डिपोर्ट) गरेका भनिएका १० जवान भुटानी शरणार्थी पेन्सिलभेनिया/न्यूजर्सीबाट दिल्ली ट्रान्जिट हुँदै पारो विमानस्थल पुगेका थिए। गत शुक्रवार (चैत १५) बिहान साढे ७ बजे पारोमा उत्रिएर उनीहरूले जीवनमै नसोचेको आतिथ्य, खादा–स्वागत र खानपिन ग्रहण गरेपछिको सेसन भने ‘मेन्टरिङ’को रहेछ, जहाँ भुटानी अधिकारीले ‘तिमीहरू त काकताली परेर पो यहाँ आएका हौ, तिमीहरूको जाने ठाउँ नेपाल हो, उतै जानु’ भनिसकेपछि तै चुप मैं चुप स्थिति बनेको रहेछ। सरकारी गाडीमै स्कर्टिङसहित फुन्चोलिङ नाका र त्यहाँबाट पारी जयगाउँ (भारत) उतारिदिएपछि फेरि उस्तै साथ–सहयोगमा उनीहरू झन्डै २०० किलोमिटर भारतीय सडक छिचोलेर पानीटेंकी (मेचीपुल नजिक) आएका रहेछन्। 

यसरी ककसले हात समाएर, बाटो कटाएर र मेची नदीको बगरमा कुदाएर खोरीबारी नाका ल्याइएका यी पात्रहरू कुनै ग्रहबाट फुत्त झरेका ‘जीवात’ मात्रै हुन् त? अहो! ‘डिपोर्टेसन’मा परेर परिबन्दमाझ नेपाल आएका रोशन तामाङ, सन्तोष दर्जी, आशिष सुवेदी र अशोक गुरुङहरू साँच्चै मान्छे हुन् वा कुनै ग्रहबाट आएका ‘एलियन’? 

फेरि पनि धन्यवाद छ—कवि नरदेन रुम्वा, संगीतकार चन्दन लोमजेल र गायक अमृत गुरुङ ! गीतको निचोडले भन्छ—

‘कठैबरा नि देखिन मैँले
पानीमा केही लेखिन है..!’