काठमाडौँमा हावाको गतिले घटायो वायु प्रदूषण

काठमाडौँको वायु प्रदूषण ३४८ एक्यूआईसम्म पुगेको थियो। शुक्रबार १४७ एक्यूआईमा झरेको छ।

काठमाडौँ– हावाको गति बढेसँगै वायु प्रदूषणको मात्रा घटेको छ। केही दिनयता विश्वकै पहिलो प्रदूषित शहरको रूपमा सूचीकृत भएको काठमाडौँ उपत्यका शुक्रबार सातौँ स्थानमा झरेको छ।

‘एयर क्वालिटि इन्डेक्स’को तथ्यांकअनुसार बिहीबार मध्यान्हमा पनि काठमाडौँ पहिलो प्रदूषित शहरमा सूचीकृत भएको थियो। काठमाडौँको वायु प्रदूषण ३४८ एक्यूआईसम्म पुगेको थियो। शुक्रबार बिहान प्रदूषण घटेर १४७ एक्यूआईमा झरेको छ।

नेपाल सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकांकअनुसार ०–५० हुँदा राम्रो, ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ तथा ३०१ भन्दामाथि भएमा खतरनाक तह पुगेको संकेत गर्छ।

वन तथा वातावरण मन्त्रालय, वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले हावाको गति बढेकाले प्रदूषणको मात्रा घटेर विश्वको पहिलो प्रदूषित शहरबाट सातौँमा पुगेको बताए।

“काठमाडौँ कचौरा आकारमा पनि छ। पानी परेमा सतहमा रहेको प्रदूषण तल खस्छ र हावा चल्दा उपत्यकामा थुप्रिएर बसेको प्रदूषण उडाएर लैजान्छ,” उनले भने, “प्रदूषण न्यूनीकरणका लागि विभागले व्यापक रूपमा जनचेतना अभिवृद्धिलाई प्राथमिकता दिएको छ, प्रदूषण गराउनेलाई निर्देशनसहितको सुझाव दिइरहेका छौँ। यसैगरी वातावरण विभाग र अन्य सरोकार भएका निकायबीचको समन्वय जरुरी छ।”