राज्य व्यवस्थामा गृहमन्त्रीलाई सांसदको प्रश्न– तीनकुने जस्तो संवेदनशील क्षेत्रमा किन प्रदर्शन गर्न दिइयो?

चैत १५ गते राजावादी समूहले गरेको प्रदर्शन हिंसात्मक बनेपछि त्यस विषयमा शुक्रबार गृहमन्त्री रमेश लेखकले संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा जवाफ दिएका छन्।

काठमाडौँ– चैत १५ गते राजावादी समूहले गरेको प्रदर्शन हिंसात्मक बनेपछि त्यस विषयमा शुक्रबार गृहमन्त्री रमेश लेखकले संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा जवाफ दिएका छन्।

दुई जनाको ज्यान जाने गरी भएको प्रदर्शन हिंसात्मक बन्नुका साथै आगजनी, तोडफोड र लुटपाटको घटना भएपछि त्यस विषयमा जवाफ दिन शुक्रबार समितिले गृहमन्त्रीलाई बोलाएको थियो। बैठकमा सांसदहरूले निर्मल निवासले प्रदर्शनको अघिल्लो दिन अराजक व्यक्तिलाई कमान्डर तोकेको र उसकै कमान्डमा हुने प्रदर्शन गर्न तीनकुने जस्तो संवेदनशील ठाउँ उपलब्ध गराएर कमजोरी गरेको बताए।

सांसद सर्वेन्द्रनाथ शुक्लले विमानस्थल नजिकै तीनकुनेमा प्रदर्शन गर्नका लागि किन ठाउँ उपलब्ध गराइएको भन्दै प्रश्न गरेका थिए। “संवेदनशील क्षेत्रभन्दा ढाटा दिनुपर्ने, भविष्यमा त्यस्तो नहोस्। तेलको भण्डारमा आगो लागेको भए काठमाडौँलाई बचाउन सकिन्थेन,” उनले भने, “आक्रमणकारी जसरी प्रस्तुत भइरहेका थिए अझ बढी काउन्टर दिने हिसाबले सुरक्षा निकाय प्रस्तुत हुनुपर्थ्यो।”

सांसद चित्रबहादुर केसीले सरकार चैत १५ गते तीनकुनेमा भएको आन्दोलनको विषयमा पूर्वसजग हुन नसकेको बताए। “त्यो लोकतन्त्र, गणतन्त्रको रक्षाका लागि गरिएको थिएन। शत्रुतापूर्ण आन्दोलन थियो। २५ गते नै त्यसको छनक पाइसक्दा पनि किन सरकार चनाखो भएन,” उनले प्रश्न गरे।

सांसद प्रकाश अधिकारीले तीनकुनेमा गर्न खोजिएको प्रदर्शनलाई सरकारले गम्भीरतापूर्वक नहेरेको बताए। “प्रहरीमाथि नै गाडी कुदाउन खोज्ने, भीडलाई उक्साहट गराउने मानिसलाई साधारण तरिकाले किन छोडियो। सर्वसाधारणमाथि पनि गोली लागेको छ। कसरी लाग्यो,” उनले भने, “सुरक्षा कमजोरी भएको छ।”

सांसद दुर्गा राईले समाजवादी मोर्चाले कार्यक्रम गर्न लागेकै दिन अर्को कार्यक्रमका लागि अनुमति दिनु नै गलत भएको बताइन्। “समाजवादी मोर्चाले कार्यक्रम गर्न लागेकै दिन, त्यसमा पनि तीनकुने जस्तो संवेदनशील क्षेत्रमा प्रदर्शनका लागि किन ठाउँ दिने काम भयो त्यो गम्भिर प्रश्न हो,” उनले भनिन्, “१४ गते निर्मल निवासबाट कमान्डर परिवर्तन गर्ने काम भएको थियो। कमान्डरका गतिविधि त हामीले पहिले देखि नै देखिसकेका थियौं। अराजक व्यक्तिलाई कमान्डर तोकिसकेपछि सजग हुनुपर्ने थियो।” उनले तीनकुने घटनापछि प्रहरीले अनुसन्धान गरिरहे पनि उक्त घटनाको न्यायिक छानबिन आयोग बनाउनुपर्ने धारणा राखिन्।

त्यस्तै, सांसद सरिता प्रसाईँले पनि एकै दिन दुई वटा कार्यक्रम गर्न दिने र त्यसमा पनि तीनकुनेमा कार्यक्रम गर्न दिनु नै सरकारको कमजोरी भएको धारणा राखिन्। सांसद हितराज पाण्डेले पनि सरकारले राजावादी समूह भनेर मात्र नहुने त्यसको मुख्य जिम्मेवारकर्ताका बारेमा जानकारी दिनुपर्ने धारणा राखे।

“समाजवादी मोर्चाले १५ गते एउटा प्रदर्शन गर्ने कार्यक्रम घोषणा भइसकेको थियो। त्यसपछि राजावादी समूहले १५ गते प्रदर्शन गर्ने भनेर कार्यक्रम तय गरियो। एकैदिन किन त्यसरी समय दिइयो। सरकारको सूचना विश्लेषण गर्ने संयन्त्रको कमजोरी हो की,” उनले भने, “त्यसमा पनि तीनकुने जस्तो संवेदनशील ठाउँ दिने काम भयो।”

गृहमन्त्री लेखकले अराजकता फैलाएर संविधान र व्यवस्थाप्रति वितृष्णा जगाउने एकमात्र उद्देश्यकासाथ राजावादी समूहले तीनकुनेमा हिंसात्मक प्रदर्शन गरेको बताए। उनले उक्त घटनाको निष्पक्ष छानबिन हुने भन्दै आशंका नमान्न सांसदलाई आग्रह गरे।

“संविधान र व्यवस्था विरोधी अराजक गतिविधिलाई कानूनको दायरामा ल्याएर नागरिकमा सुरक्षाको प्रत्याभूति दिलाउने र लोकतान्त्रिक अधिकारको निर्वाध उपभोग गर्न पाउने वातावरण निर्माण गर्न सरकार थप क्रियाशील भएर काम गर्छ,” उनले भने, “शान्तिपूर्वक भेला हुन पाउने संविधान प्रदत्त अधिकारको अवमूल्यन हुनेगरी भएको तोडफोड, विध्वंस तथा आक्रमण कुनै राजनीतिक दर्शन, विचार र आदर्शबाट प्रेरित भएको थियो भनेर अनुमानसम्म गर्न सकिँदैन।”

मन्त्री लेखकले संविधान प्रदत्त विचार र अभिव्यक्तिको स्वतन्त्रता र बिनाहातहतियार शान्तिपूर्वक भेला हुन पाउने नागरिक अधिकारको चरम अवमूल्यन हुनेगरी व्यक्तिका निजी सम्पत्ति, सञ्चारगृह, राजनीतिक दलका कार्यालय, व्यापारिक केन्द्र तथा सवारी साधनमा भएको तोडफोड, विध्वंस तथा आक्रमण कुनै राजनीतिक दर्शन, विचार र आदर्शबाट प्रेरित भएको थियो वा होला भनेर अनुमानसम्म पनि आजको सभ्य समाजले गर्न नसक्ने बताए।

“घटनाक्रमलाई विश्लेषण गर्दा यो नियोजित रूपमा अराजकता फैलाउने आपराधिक तथा विध्वंसात्मक कार्य हो भन्ने कुरामा विवाद हुनै सक्दैन। आफ्ना असहमतिहरू शान्तिपूर्वक राख्ने र जनमतबाट अनुमोदित हुने अधिकार सबैलाई संविधानले दिएको छ। तर अराजक शैलीमा भएको लुटपाट, तोडफोड र आगलागी तथा सुरक्षाकर्मीमाथि गाडी गुडाउनेसम्मको प्रयास अक्षम्य र भर्त्सनायोग्य छ,” लेखकले भने,“यस्तो कार्यको कानूनी दायित्व यसका रचनाकार तथा आयोजक र संलग्नहरूले लिनु पर्दछ भन्ने कुरामा सरकार प्रष्ट छ।”

उनले घटनाको अनुसन्धान र छानबिनको क्रम जारी रहेको भन्दै संलग्न थप व्यक्तिहरूको खोजी भइरहेको बताए। साथै उनले तत्थ र प्रमाणमा आधारित भई निष्पक्ष र स्वतन्त्र अनुसन्धान गर्न निर्देशन गरिएको र सोको सुनिश्चतता गरिने उल्लेख गरे। सुरक्षा निकायको समन्वयात्मक परिचालन तथा शान्ति सुव्यवस्था कायम गर्न खटिएका सुरक्षाकर्मीहरूले आफू घाइते हुँदा समेत मानवीय क्षति नहोस् भनि अत्यन्तै संयमता अपनाएको कारण थप क्षति हुन नपाएको उनको जिकिर थियो।

उनले भने, “भीडको उदन्डता र नेतृत्वकर्ताको उक्साहट हेर्दा प्रहरीले संयमता नअपनाएको भए अझै ठूलो क्षति हुने अवस्था सिर्जना हुने थियो।”